Saturday, November 23सत्यम खबर
Shadow

आठौँ राष्ट्रिय प्रतियोगिताको भौतिक संरचना निर्माणमा कुनै कमी आउन नदिने मन्त्री राइको प्रतिवद्धता

बाँके,३० असोज । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नेपालगन्जमा हुने आठौँ राष्ट्रिय प्रतियोगिताका लागि भौतिक संरचना निर्माणमा कुनै कमी आउन नदिने प्रतिवद्धता जनाएका छन ।
उनले समग्र बाँकेको विकासमा कुनै कसर बाँकी नराख्ने बताउँदै २५ माघ, २०७५ मा हुने आठौँ राष्ट्रिय प्रतियोगिता तयारीका लागि रकम अभाव हुन नदिने बताएका हुन । मध्यपश्चिम क्षेत्रिय खेलुकुद विकास समितिले विजयादशमी, तिहार र छठ पर्वको अवसरमा नेपालगन्जमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले राष्ट्रिय प्रतियोगिता तयारीका क्रममा भएका समस्याका बारेमा जानकारी गराउन सुझाव दिँदै समस्या र चुनौतिसहितको योजना बनाएर आए समस्या समाधान गर्न आफू तयार रहेको उनले बताए ।
उनले राष्ट्रिय प्रतियोगिताका लागि भौतिक संरचना निर्माणमा ढिलाई हुन नदिने समेत वचन दिएका छन । तोकिएको समयमा प्रतियोगिता संचालन गर्ने वातावरण बनाउने दायित्व आफ्नो पनि भएको बताउँदै मन्त्री राईले संरचना निर्माणमा ढिलाई गर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिए ।
‘आयोजकले प्रतियोगिताका लागि चाहिने भौतिक संरचना निर्माणलाई तीव्रता देवस् आवश्यक परेको रकम म ब्यवस्था गर्छु,’ शहरी विकास मन्त्री राईले भने । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले गत आर्थिक वर्षको रकम ढिलो निकासा भएका कारण भौतिक संरचना निर्माणमा ढिलाई भएको बताए ।
उनले वर्षातले निर्माणमा विलम्व भएको बताउँदै पछिल्लो समय निर्माणले तीव्रता लिएको बताए । उनले माघमा हुने आठौँ प्रतियोगिता कुनै पनि हालतमा नसर्ने दावी गरे। उनले राष्ट्रिय प्रतियोगिताका लागि प्रदेश ५ का विभिन्न जिल्लामा संरचना निर्माण भइरहेको बताउँदै अवको दुई महिनामा सवै संरचना निर्माण पूरा हुने दावी गरे ।
‘सवै काम द्रुत गतिमा अगाडि बढेको छ। अब कुनै पनि हालतमा माघभन्दा पछाडि सर्दैन,’ ओलीले भने ।
प्रदेश ५ का सभासद एवं ओलम्पियन खेलाडी सुरेन्द्र बहादुर हमालले आठौँ राष्ट्रिय प्रतियोगिता सफल बनाउने दायित्व सबैको भएको बताउँदै प्रतियोगिता सफल भए मात्र नेपालगन्जको नाम स्वर्ण अक्षरमा लेखिने बताए ।
उनले बाँकेले यसअघि पनि राष्ट्रिय प्रतियोगिता गराइसकेकोले आठौँ प्रतियोगितालाई पनि सफल बनाएर छाड्ने धारणा राखे। प्रदेश ५ का अर्का सभासद मोहम्मद याकुव अन्सारीले प्रतियोगितालाई चाहिने भौतिक संरचना निर्माणका लागि आवश्यक पर्ने रकमका लागि प्रदेश सरकारसँग माग गर्ने बताए। उनले कुनै पनि हालतमा प्रतियोगिता सफल बनाएर छाड्ने दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *