Thursday, May 7सत्यम खबर
Shadow

१ र १८ वडा बाहेक उपमहानगर भित्रका सम्पूर्ण वडाको असारे विकास कार्य जारी

नेपालगन्ज, १९ अषाढ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ र १८ बाहेक हाल २१ वटै वडाहरुमा विकास प्रेमी जनप्रतिनिधिहरुले असारे विकास कार्य जारी राखेका छन् भन्ने भनाई उपमहानगरबासीहरुको रहेको पाईन्छ ।
उपमहानगरपालिका भित्र रहेका २३ वटै वडाहरु मध्ये २ वटा वडालाई छोडेर कुनै पनि वडाले ६० प्रतिशतभन्दा माथि चालू पूँजीबाट बजेट खर्च गर्न सकेका छैन । तर यही असारे विकासको बेलामा बचेको ६० प्रतिशत कार्य सम्पन्न गरी बिनियोजित बजेटको १०० प्रतिशत प्रगति विवरण पेश गर्ने छन् भन्ने अनुमान उपमहानगरबासीहरुले आफै लगाउन सक्छन् ।
वडा नं. १८ का जनप्रतिनिधिहरुको भनाई अनुसार हामीले बजेट बिनियोजित भएदेखि नै कार्य सञ्चालन गरिसकेको हुँदा हाल कुनै विकास निर्माण लगायतको कार्य बाँकी नरहेको तथा थप २०८०/२०८१ को बिनियोजित बजेट कहाँ कसरी खर्च गर्ने तयारीमा लागिरहेको बताउँछन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा सचिव बृज भुषण झाका अनुसार यदि कुनै पनि कर्मचारीको टेबुलमाथि फाइलको च्यांग लागेको अवस्था देखिन्छ भने कि त उसले अध्ययन गर्नको लागि रोकेको हुनुपर्छ कि त पैसाको लेनदेनको लागि । त्यसैले मेरो जिम्मेवारीमा रहेको वडा नं. १८ र २० मा कुनै पनि फाइल टेबुलमा भेट्नु हुन्न, कति छिटो काम गर्न सकिन्छ गरेर अगाडी बढाएको उहाँले बताउनुभयो ।
माथि उल्लेखित सचिव झाको भनाईबाट समेत प्रष्ट हुन्छ जनप्रतिनिधिहरुले ईमान्दारीपूर्वक शतप्रतिशत कार्य गर्ने हो भने असारे विकासको लागि रोकिनु पर्ने अवस्था कुनै पनि वडा भित्र रहँदैन । तर हाम्रो बिडम्बना बिनियोजित बजेटको ७० प्रतिशत रकम असार मसान्तमा मात्र खर्च गर्ने परम्परा केन्द्रदेखि प्रदेश हुँदै पालिकासम्म बसी आएको हुँदा हाल वडाका जनप्रतिनिधिहरुले समेत त्यसकै अगुवाई गरिरहेको पाईन्छ ।
केही दिन अगाडी नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को वडा भेलाबाट प्रस्तुत बजेट भाषण कै क्रममा वडा सचिव मदनबहादुर रावतले हाल बिनियोजित बजेटको ७० प्रतिशत रकम विभिन्न शिर्षकमा खर्च गर्न बाँकी रहेको जानकारी सार्वजनिक गर्नु भएको थियो ।
सोही बजेट खर्च गर्न हाल फुल्टेक्रा भित्र उपभोक्ता समिति गठन गरी ५ लाखको कार्य जारी, हडिया बाबा आश्रममा ८ लाख बराबरको पिसिसि निर्माण कार्य जारी, सरसफाईमा बाँकी बचेको करीब ३ लाख ५० हजारको कार्य जारी रहेको छ भने वडाका विभिन्न ठाउँमा १२ लाख बराबरको ग्राभेल हाल्ने कार्य जारी रहेको वडा सचिव रावतको भनाई रहेको छ ।
वडा सचिव रावतका अनुसार माथि उल्लेखित वडाले कार्य गर्न सक्नुमा कुनै दोष छैन । हाम्रो वडा भित्र बजेट ढिलो गरी पठाईएको हो । शंका लागे पैसा पठाईएको प्रमाण पेश गर्न सकिन्छ । हाम्रो वडा भित्र कुनै पनि उपभोक्ता समिति मार्फत कार्य गर्दा काम गरेको मजदुरहरुलाई नगद पैसा दिनु पर्ने हुन्छ तर वडासित पैसा नभएको हुँदा काम असार मसान्तमा गरिएको बताउनुभयो ।
कुनै पनि काम गर्नेले उधारोमा काम गर्न सकेको अवस्थामा हाम्रो वडामा समेत अन्य माथि उल्लेखित वडा जस्तै असार मसान्त भन्दा अगावै काम हुन सक्ने वडा सचिव रावतको भनाई रहेको छ ।
यसबारे वडा नं. ६ का वडा अध्यक्ष समिरप्रताप सिंहका अनुसार कर्मचारीहरुले माथि बाटै बजेट समयमा नपठाईए जानकारी गराएको हुँदा यसपटक काम गर्न ढिलो भएको बताउनुभयो । बिना पैसा कसरी काम गर्ने प्रश्न उहाँले आफै तेर्साउनु भएको थियो ।
समयमा काम भएन भन्ने प्रश्न वडा नं. ६ बाट उपमहानगरबासीहरुको होइन उनको प्रश्न ती सबै निर्वाचित जनप्रतिनिधिबाट हो जसले जनताको सेवाको लागि अब त्यस ठाउँको पुगेको ठूलो ठूलो भाषणमा ठोक्ने गरेका छन् । वडा नं. १८ ले कार्य गर्दा त्यसवडाका जनप्रतिनिधि र कर्मचारीहरुले आफ्नो पाकेटबाट पैसा लगाएका हुन ?
वा वडा नं. १ ले वडा भित्र शतप्रतिशत कार्य सम्पन्न गर्न निर्वाचित जनप्रतिनिधि वा कार्यरत कर्मचारीहरुले आफ्नो तलबको पैसा लगाएर, वा उधारो लिएर वडा भित्रका काम गरेको हुन् भन्ने प्रश्न असारे विकास गर्ने जनप्रतिनिधि र कर्मचारीहरुसित उपमहानगरबासीहरुको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *