
नेपालगन्ज, ७ अषाढ – आर्थिक रुपमा देशले विकास गर्न नसक्नु पछाडी वर्षभरीको काम अषाढ मसान्तमा मात्र गर्ने र भएभरको बजेट खर्च गर्ने परिपाटी बसि आएकोलाई मान्न सकिन्छ ।
आज नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को वडा भेलाबाट वडा सचिव मदनबहादुर रावतमार्फत बाचन गरिएको पूँजीगत खर्चको विवरण बारे सुनेर वडाबासीहरुले उक्त भनाई राखेका छन् ।
सचिव रावतले ५९ लाख ५० हजार कुल बिनियोजित पूँजीगत बजेट मध्ये ११ महिनाको अवधीमा जम्मा १८ लाख ३७ हजार ६ सय १४ रुपैयाँ मात्र खर्च भएको तथा अषाढ मसान्त भित्र ४१ लाख १२ हजार ३ सय ८६ रुपैयाँ खर्च गर्नुपर्ने बताउनु भएको छ ।
वडाबासीहरुका अनुसार वडाले केही सकारात्मक पक्षतर्फ समेत बजेट खर्च गरेको पाईन्छ । जसमा स्वास्थ्यलाई प्राथमिकता दिएको छ भने शिक्षालाई समेत प्राथमिकतामा राखेको पाईन्छ । तर अन्य बाटो निर्माण, नालामाथि ढक्कन निर्माण, मठमन्दिर सौन्दर्यकरण, ग्राभेल, माटो पटान लगायततर्फ बजेट बिनियोजित भए पनि हालसम्म खर्च नगरेको हुँदा अब वर्षायाम शुरु हुने बेला खर्च गर्दा काम कस्तो होला भनी अनुमान लगाउन सकिन्छ भन्ने तर्क वडाबासीहरुले राखेका छन् ।
वडाबाट दुई शिर्षकमा ८ लाख र ४ लाख गरी ग्राभेल तथा माटो पटानमा गतवर्ष जम्मा १२ लाख बजेट बिनियोजित गरिएपनि हालसम्म उक्त बजेट खर्च नगरेको जानकारी गराउँदै सहसचिव भक्तबहादुर खत्रीले वर्षायामको लागि ग्राभेल हाल्नुपर्ने भएको हुँदा नै उक्त बजेट खर्च नगरेको तर्क राख्छन् ।
त्यसैगरी लक्ष्मीनारायण मन्दिरमा तार घेरवार तथा हडिया बाबा मन्दिरमा सौन्दर्यकरण गर्ने भनेर ८ लाख बजेट बिनियोजित गरिएको थियो तर उक्त बजेट हालसम्म खर्च नगरिएको सहसचिव खत्रीले जानकारी गराउनुभयो ।
त्यसैगरी, वडा भित्र रहेका मठमन्दिर कुँवा ताल तथा होलिका दहन गर्ने जग्गा संरक्षण र सौन्दर्यकरण गर्ने भनेर गतवर्ष ५ लाख बजेट बिनियोजित गरिएको भएपनि हालसम्म उक्त बजेट खर्च नगरी अषाढ मसान्त मै खर्च गर्ने तरखरमा वडा कार्यालय रहेको जानकारी गराईएको छ ।
त्यसैगरी सरसफाईको शिर्षकमा विभिन्न चरण गरेर ६ लाख बजेट बिनियोजित गरिए पनि हालसम्म १ लाख ८५ हजार ४ सय ९० रुपैयाँ मात्र खर्च गरी बाँकी ४ लाख बढी रकम वडा कार्यालयको खाता मै रहेको सहसचिव खत्रीले जानकारी गराउनुभयो ।