
नेपालगन्ज, ७ अषाढ – नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका २३ वटै वडा कार्यालयहरुले वडा भेला सम्पन्न गर्न तयारीमा लागी रहेकै बेला वडा नं. ६ ले आफ्नो वडा भेला आज सम्पन्न गरेको छ ।
धार्मिक पर्यटकीय स्थल हडिया बाबा मन्दिर प्राङ्गणमा सम्पन्न वडा भेलामा राजनीतिक दलदेखि आम सर्वसाधारण वडाबासीहरुले वडाले गरेको काम प्रति गुनासो पोखेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका कार्यपालिका सदस्य तथा वडा सदस्य सञ्जु योगीले आफूलाई कुनै जानकारी बिना नै हस्ताक्षर गराउने गरेको गुनासोसम्म गर्न भ्याईन । उक्त गुनासो सुन्दा वडाबासीहरुले आफै अनुमान लगाउन सक्ने अवस्था रहेको पाईन्छ वडा कार्यालय भित्र वडासचिव र वडाअध्यक्ष हाली मुहाली बाहेक थप निर्वाचित वडा जनप्रतिनिधिहरुको कुनै हैसियत नै नभएको देखिन्छ ।
वडा भित्र हाल कर्मचारीको मनोमानी रहेकै हुँदा १ वर्ष २ महिना बितिसक्दा समेत वडा भित्र जनप्रतिनिधिहरुको पहिचान देखाउने ब्यानरसम्म परिवर्तन नगरेको गुनासो गरेकी छन् । कर्मचारीहरु कै निर्णयमा अध्यक्षले समेत सहमति जनाउने गरेको आरोप लगाउँदै हामीलाई वडाबासीहरुले दिएको जिम्मेवारी अनुसार अध्यक्ष स्वयं अभिभावक भई हमलाई समेत खटाउनु पर्ने बताउनुभयो ।
वडाबासीहरुले सबभन्दा बढी सरसफाई र खाने पानीको समस्या दिनोदिन हुँदा समेत वडाका जनप्रतिनिधिहरु चुप लागी बस्ने भएको हुँदा समयमा समस्या समाधान नहुने भएको बताउँछन् ।
यसबारे वडाअध्यक्ष समिरप्रताप सिंहले आउने समयमा वडाबासीहरुको भावना अनुसार बजेट विनियोजित गर्ने तथा भएका समस्यालाई छिटोभन्दा छिटो समाधान गर्ने बताउनु भयो ।
वडा भेला कार्यक्रममा बजेट बारे वडा सचिव मदनबहादुर रावतले जानकारी गराउँदै १ करोड २ लाख विनियोजित बजेट मध्ये पूँजीगत खर्चतर्फ विनियोजित ५९ लाख ५० हजार रहेको बताउँदै १८ लाख ३७ हजार ६ सय १४ रुपैयाँ खर्च भईसकेको छ भने अषाढ मसान्त भित्र ४१ लाख १२ हजार ३ सय ८६ रुपैयाँ खर्च गर्न बाँकी रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा ५० वढी वडाबासीहरुको सहभागिता रहेको थियो भने विभिन्न राजनीतिक दलका वडा कमिटी जनप्रतिनिधिहरुले आ–आफ्नो भनाई राखेका थिए ।