
नेपालगन्ज, १४ असोज – हिजो–आज नेपालगन्जको सीमानाका जमुनाहामा आउने जाने यात्रुहरुको भिड प्रसस्तै देखिने गरेको छ । सुरक्षा मापदण्डको कुनै प्रवाह बिना एक–आपसमा चिप्केर उभिएको तमाम प्रमाणहरु प्रष्ट देखिन सकिन्छ ।

बुधबार बिहान पनि सोही अनुसार देखियो । सीमानाकामा यस अनुसार भिड हुनु कुनै ठूलो कुरा होइन, कोभिड–१९ को महामारीको बेला भारतमा लकडाउन लागेपछि त्यहा“बाट नेपाल फर्किएका नेपाली कामदारहरुले अब पुनः भारततर्फ फर्किने हुँदा र फर्किंदा सीमानाका बन्द भएकोले यसप्रकारको भिड देखिएको हो ।

कोभिड–१९ को महामारी भारतमा फैलिएको संक्रमणको ग्राप हेर्दा विश्वको पहिलो स्थानमा पुग्ने अवस्था रहेको पाईन्छ । त्यसमाथि नेपाल जस्तो सानो देशका बासिन्दाहरुलाई भारत मै आफ्नो जीवकोपार्जन गर्न जानु पर्ने बाध्यता किन छ त ? भनी प्रश्न गर्दा हिमांसु गुरुङले भन्नुभयो– ‘कारण एउटै छ, भारत गई आफ्नो रोजगारी सुनिश्चित गर्नु, रोजगारीको अवस्था नेपालमा नहुने भएकै हुँदा भारत रोजगारीको लागि जानुपर्ने बाध्यता रहेको’ बताउनुभयो । यस अनुसार आफ्नै सर्वसाधारण जनतालाई मार्नुभन्दा सीमानाका खोल्दा बेस भनी सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।

कारण जे सुकै होस् तर यो तितो सत्य हो, हरेक नेपालीहरुको जीवनमा भारत र भारतीयहरुको सकारात्मक छाप रहेको उदाहरणहरु प्रसस्त पाईन्छ । नेपाली परम्परा, धार्मिक मान्यता, संस्कार, पारिवारिक रहन–सहन, रिजि–रिवाज लगायत धेरै जसो कुराहरु एक आपसमा मेल खाने गरेको र सदियौंदेखि रोटीबेटीको सम्बन्ध समेत भएको हुँदा प्रायः नेपालीहरुको चाहना भारतमा गएर केही रोजगारी गर्नु हुने गर्दछ ।
यसबारे इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार दैनिक सरदर दुई सय पचास बढी नेपालीहरु भारत जाने र सोही संख्यामा आउने गरेको तथ्यांक देखाउँछन् । नाकामा पुग्ने नेपालीहरुलाई भने भारतीय आधारकार्ड, स्वास्थ्य सम्बन्धी पर्चा वा परिचयपत्र भएको खण्डमा जान दिने गरेको जनाउनुभयो ।

जमुनाहा चौकी इन्चार्ज बिष्णु गिरीले ‘आज–भोली धेरै नेपालीहरु भारत जाने भनेर आउने गरेको बताउनुभयो । नाकामा आउने नेपालीहरुलाई परिचयपत्रको आधारमा भारततर्फ जान दिने गरेको’ उहाँले जानकारी गराउनुभयो । ‘भारतमा कोरोनाको महामारी छ, किन जानुहुन्छ जानेहरुलाई भन्दा नेपालमा काम छैन, रोगले भन्दा भोकले मर्ने अवस्था छ भनेर काम गर्न भारत जान लागेको बताउँछन्’, चौकी प्रमुख गिरीले ।
चौकी प्रमुख गिरीले भारत जानेमा बढी जसो स्वास्थ्य चेकजाँच गर्ने भनेर पर्चा नै लिएर आउने गरेको हुँदा हामीले जान दिने गरेको बताउँदै सोही अनुसार भारतबाट समेत नेपालगन्ज मेडिकल कलेज, फत्तेबाल आँखा अस्पतालमा आँखा सम्बन्धी र कान सम्बन्धी पर्चा बोकी आउनेलाई नेपाल आउन दिने गरेको बताउँछन् । चौकी प्रमुखका अनुसार महिनाको सरदर करीब ५ हजारको हाराहारीमा ओहोर–दोहोर भईसकेको बताउनुभयो ।

विशेष स्रोतका अनुसार पारदर्शी रुपमा आउने–जानेको संख्या जे जति भएपनि चोर बाटो प्रयोग गरी नेपालमा परवेस गर्नेको संख्या यसभन्दा दोब्बर–तेब्बर रहेको पाईन्छ । भारतीय सीमाना खुला रहेको हुँदा दैनिक हजारौंको संख्यामा चोर बाटो अपनाई नेपाल आउने गरेका छन् ।
स्रोतका अनुसार पछिल्लो महिनादेखि हालसम्म हजारौंको संख्यामा नेपालीहरु भारत फर्किएका छन् र दैनिक भारत जानका लागि नाकामा पुग्ने नेपालीहरुको कमी भएको छैन ।
कोरोना भाइरसको जोखिम भएपनि घरमा बसेर भोक मेट्न नसकिने भन्दै कामको खोजीमा नेपालको बाँके, बर्दिया, दांङ, कैलाली, कञ्चनपुर, झापा, सुनसरी, बिर्ता, सुर्खेत, सल्यान लगायतका तराई र पहाडी जिल्लाका नेपालीहरु भारत फर्किन बाध्य भएका छन् ।
स्थानीय सरकारले समस्यामा परेका गरिब, दैनिक रोजगारी गर्नेहरुको दैनिकलाई सहज बनाउन बैकल्पिक उपाय खोजी गर्न नसक्दा धेरै नेपालीहरुको दैनिकी कष्टकर बनेको छ ।
