Wednesday, March 11सत्यम खबर
Shadow

बन्दको प्रभाव : नेपालगन्ज बजारमा चहलपहल, सीमापारी सुनसान

नेपालगन्ज, असोज १४ – ६ महिना अघिसम्म दैनिक पाँच करोडको कारोबार हुने गरेको सीमापारीको रुपईडिहा बजार हाल आएर सुनसान देखिएको छ ।
कोभिड–१९ महामारीका कारण यहाँस्थित नेपाल भारत सीमानाबाट सर्वसाधारणको आवागमन बन्द गरिएपछि नेपाली ग्राहकहरुले भरिभराउ हुँदै आएको रुपईडिहा बजार हाल सुनसान भएको छ ।

सुनसान रुपईडिहा बजार, तस्वीरः सत्यमखबर


नेपाली उपभोक्ताको भरमा ६ महिना अघिसम्म दैनिक ५ करोडसम्म व्यापार हुने रुपईडिहामा नेपाली जान छाडेपछि व्यापार शुन्य भएको व्यवसायीले बताएका छन् ।
रुपईडिहा व्यापार मण्डलका अध्यक्ष विजय मित्तलले नेपाली ग्राहकका कारण दैनिक ४ देखि ५ करोडसम्मको व्यापार व्यवसाय हुँदै आएको रुपईडिहामा अहिले दैनिक एक लाखको पनि व्यापार हुन नसकेको बताउनुभयो ।
उहाँले ६ महिनादेखि सीमाना बन्द रहेकोले व्यापार शुन्य भएपछि भाडा समेत तिर्न नसक्दा रुपईडिहाका आधाजति व्यवसायीले पसल खाली गरेर त्यहाँबाट नानपारा, बाबागञ्ज र बहराइच गैसकेको बताउनुभयो ।
विगतमा यति बेला दसैका लागि खरिदारी गर्ने नेपाली उपभोक्ताले गर्दा रुपईडिहामा अत्याधिक भिडभाड रहने गरेको जनाउँदै तर अहिले सीमानाका बन्द रहेका कारण बजार सुनसान रहेको र अधिकांश पसल बन्द रहेको बताउनुभयो ।

सधै भिडभाड हुने रुपईडिहा बजारको चोक बन्दपछि सुनसान अवस्थामा । तस्वीरः सत्यमखबर


दैनिक सयौंको संख्यामा नेपाली उपभोक्ताहरु सामान खरिद गर्न आउने गरेकोेले एक मिनट पनि फुर्सद नहुने गरेकोमा अहिले पसल खोलेर बस्दा दिनमा मुश्किलले २० जना स्थानीय उपभोक्ता पनि नआउने गरेको रुपईडिहाका व्यवसायी ओमकार वैश्यले बताउनुभयो ।
उहाँले व्यापार शुन्य भएपछि रुपईडिहाका अधिकांश व्यवसायीको करोडौ लगानी डुबेर उनीहरु पलायन भैसकेको बताउनुभयो । सोही कारणले पटक पटक व्यापारीले सीमाना खोल्न माग गर्दै आएको पनि वैश्यको भनाई छ ।
यता, सीमानाबाट सर्वसाधारणको आवागमन बन्द गरिएपछि सीमापारी खरिदारी गर्न जानेहरु उता जान नपाउँदा नेपालगन्जको व्यापार चम्किएको अधिकांश स्थानीय व्यवसायीको भनाई छ ।
सीमापारीको खरिदारी पुर्ण रुपमा बन्द भएपछि अहिले नेपालगन्जमा स्थानीयको मागलाई पुरा गर्न नसकिएको व्यवसायीले बताएका छन् ।
नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघका अध्यक्ष फर्णाधर भण्डारीले सीमापारीको खरिदारी बन्द भएका कारण अहिले नेपालगन्जको व्यापार ह्वात्तै बढेको तथा आवश्यक सामाग्रीको माग पुरा गर्न नसकिएको बताउनुभयो ।
उहाँले ६ महिना पहिलेसम्म ग्राहक कुरेर बस्नु परेकोमा अहिले अधिकांश किराना तथा खाद्य व्यवसायीलाई दिनभर फुर्सत नहुने गरेको बताउनुभयो ।
संघका उपाध्यक्ष प्रमोद अग्रवालले अब सधैंका लागि उताबाट व्यक्तिगत किनमेल गर्न नपाउने व्यवस्था गर्नु पर्ने बताउनुभयो ।
यसैविच नेपालगन्ज उद्योग वाणिज्य संघले पनि सीमापारीको किनमेल बन्द भएपछि बाँकेको नेपालगन्ज, कोहलपुर र खजुरा बजारको व्यापार बढेको जनाएको छ ।
संघका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले नेपाली उपभोक्ताले सीमापारी गएर गर्दै आएको खरिदारी बन्द भएपछि नेपालगन्जलगायत जिल्लाका सहरी क्षेत्रको व्यापार धेरै बढेको बताउनुभयो ।
उहाँले अब सधैंका लागि यही व्यवस्था गर्नुपर्ने तथा सीमापारीबाट किनमेल गर्नेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने नियम बनाउनु पर्ने माग गर्नुभयो ।
सीमाना बन्द भएका कारण अधिकांश नेपालीहरुले घरघरमा तरकारी उत्पादन थालेको र स्वदेशमै बनेका वस्तुहरुको प्रयोगमा पनि बृद्धि भएकोले आत्मनिर्भरता समेत बढेको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *