Wednesday, December 10सत्यम खबर
Shadow

जय किसान मा.वि.मा भईरहेको भ्रष्टाचारको खुलासा

नरैनापुर, २२ जेठ – बाँके नरैनापुर गाउँपालिका स्थित रहेको जय किसान माध्यमिक विद्यालय भित्र भ्रष्टाचार भईरहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्षले नै लिखित रुपमा खुलासा गरेका छन् ।
उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्षद्वारा आज सोमबार एउटा पत्राचार सार्वजनिक गर्दै अभिभावक तथा शिक्षा प्रेमीहरुलाई विद्यालयमा भइरहेको अनियमितता र भ्रष्टाचारजन्य कार्यबारे आवश्यक कदम उठाउन अहवान गरेका छन् ।
नरैनापुर ६ स्थित श्री जय किसान माध्यमिक विद्यालय भित्र विभिन्न शीर्षकमा रकम हिनामिना रहेको, शैक्षिक वातावरण प्रभावित रहेको, दिवा खाजा खरीद र विद्यालयको पुस्तक खरीदमा ब्यापक भ्रष्टाचार देखिएपछि विद्यालय ब्यवस्थापन समितिले उक्त विषयमा जाँच प्रक्रिया अघि बढाउन अहवान गरेको हो ।
पछिल्लो एक महिनादेखि यहाँको शैक्षिक वातावरण सुधार गर्न प्रयास गरेपनि शिक्षकहरुको मनोमानी रोक्न सकिएन, ब्यवस्थापन समितिका अध्यक्ष अम्बरलाल मौर्यले भने, विद्यालय अहिले धेरै जटिल अवस्थामा छ, सुधारका लागि सर्वपक्षीय रुपमा अहवान गरेको हुँ ।
विद्यालयको जग्गा ठेक्कामा दिँदा विद्यालयलाई प्राप्त हुनु पर्ने रकम ९ लाख रुपैया विद्यालयमा दाखिला नगरि उक्त रकम पूर्व प्रधानाध्यापक र जग्गा ठेकेदारहरुले मिलोमतो गरि पचाएको, कक्षा ९ देखि १२ सम्म सञ्चालित कृषि संकायको रकममा हिनामिना रहेको, विद्यालयका लागि खरीद भएको पुस्तकमा ५ लाखको अनियमितता देखिएको, विद्यालयको खाता र विद्यालयमा रहेको विभिन्न जिन्सी सामाग्रीमा हेरफेर गरि रकम हिनामिना भएको अध्यक्ष मौर्यले खुलासा गरेका हुन् ।
विद्यालयबाट पटक–पटक सबै हिसाब सार्वजनिक गर्न माँग गर्दा हालसम्म सार्वजनिक नभएको विषयलाई सार्वजनिक रुपमै दबाव दिई विद्यालयको अवस्थामा सुधार गर्नका लागि अभिभावक तथा शिक्षा प्रेमीलाई अहवान गरेका अध्यक्ष मौर्य, ३ महिना अघि मात्रै विद्यालय ब्यवस्थापन समितिमा चयन भएका हुन् ।
विद्यालयको लेखापाल र प्रधानाध्यापक संग पटक–पटक विद्यालयको सम्पत्ती सार्वजनिक गर्न अनुरोध गरियो तर सुनुवाई भएन, अध्यक्ष मौर्यले भने, अब जनता उतारेर हिसाब सार्वजनिक गर्न लगाउँछु ।
विद्यालय ब्यापक भद्रगोल अवस्थामा छ, मौर्यले भने, हामी सुधारका लागि पहल गर्दा सूचना लुकाउने, शिक्षकहरु रिसाउने लगायत गतिविधि विरुद्ध अभिभावक र शिक्षाप्रेम तथा सरोकारवालालाई डाकेको हुँ ।
विद्यालयमा यस अघिदेखि शिक्षक र प्रधानाध्यपक नियुक्तीमा विवाद रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *