नेपालगन्ज, १७ जेठ – नेपालगन्ज उपमहानगरपालिका भित्र सम्भवतः पहिलो पटक नै आयोजना गरिएको साईबर अपराध सचेतना कार्यक्रम आज नेपालगन्जमा सम्पन्न गरिएको छ ।
प्रमुख जिल्ला अधिकार विपिन आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न साईबर अपराध सचेतना कार्यक्रमको विशिष्ट अतिथिमा जिल्ला प्रहरी प्रमुख सन्तोष सिंह राठौर रहेका थिए ।
प्रमुख अतिथि आचार्यले यस्तो खाले साइबर सचेतना मूलक कार्यक्रम बेलाबखत हुनुपर्छ । प्रायः नयाँ जेनेरेशनले बुझ्नु पर्ने हुन्छ सार्वजनिक सञ्जालमा हजुरले चाहेको सबथोक पाउनु हुन्छ तर अध्ययन सम्बन्धी यदि कुनै पनि बेभ भित्र हजुरको व्यक्तिगत डाटाहरु मागि रहेको छ भने त्यसभित्र शंका गर्ने स्थान भएको हुँदा त्यसतर्फ सचेत हुन आवश्यक रहेको बताउनुभयो ।
उहाँले यहाँबाट साइबर अपराध सचेतना बारे सिकेका तथा दफा ४७ को सूचना बारे बाहिर सबलाई जानकारी गराउन सके यस कार्यक्रमले सोचे जस्तो प्रतिफल अवश्यक दिने बताउनुभयो ।
जिल्ला प्रहरी प्रमुख राठौरले साईबर अपराध नियन्त्रण गर्न चाहिएको बेला प्रहरी उपस्थित हुन सक्ने संकेत गर्दै त्यसबाट जोगिन आफै सक्रिय भई लाग्नु पर्ने तथा आफ्नो व्यक्तिगत डाटा सकभर कसैलाई फारवर्ड नगर्ने बताउनुभयो ।
कार्यक्रममा बढदो साईबर अपराधबाट कसरी जोगिन सकिन्छ, साईबर अपराधलाई कसरी रोकथाम गर्न सकिन्छ, बैकिङ्ग कारोबार सुरक्षित कसरी गर्न सकिन्छ, अरुले गलत गरेको अवस्थामा आफ्नो अभिभावकलाई जानकारी गराउने, लगायत बारे जानकारी गराउनुका साथै त्यसको कानूनी प्रावधानहरु के–के छन् बारे साईबर अपराध सचेतना कार्यक्रमका प्रस्तोता द्वय मार्फत जानकारी गराईएको थियो ।
कार्यक्रममा खास गरी युवा समूहहरुको सार्वजनिक सञ्जालमा प्रयोग बढ्दो भएको हुँदा विभिन्न सरकारी तथा गैरसरकारी विद्यालयका छात्रछात्रा एवम् प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दीपककुमार बर्माले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन मिडिया पार्टनर दैनिक नेपालगन्जका प्रधान सम्पादक झलक गैरेले गर्नु भएको थियो ।
कार्यक्रमको समापन गर्दै वडाअध्यक्ष बर्माले यस किसिमको कार्यक्रम आयोजना गर्नुको पछाडी एउटा मात्र उद्देश्य सचेतना ल्याउनु हो । आज हामीले विभिन्न सरकारी तथा गैरसरकारी विद्यालयका विद्यार्थी भाई–बहिनीहरु तथा शिक्षक–शिक्षिकहरुलाई सहभागी गराएका छौं । भोली उहाँहरुले आ–आफ्नो विद्यालयमा समेत यसखाले साइबर अपराध सचेतना फैलाउन योगदान गर्नुहुनेछ भन्ने आशा रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई मायाको चिनोका साथै प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।