Sunday, April 26सत्यम खबर
Shadow

ठगी मुद्दाको आरोपीलाई प्रहरीको संरक्षण

नेपालगन्ज, २५ बैशाख – ऋण दिने भन्दै झोक्याएर कागज गरी ठगी गर्ने बाँके डुडुवाका एक आरोपीलाई प्रहरीले संरक्षण गरेको खुलासा भएको छ । बाँके डुडुवा–२ रामनगरका करिब ४५ वर्षिय रामआसरे यादवलाई ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएपनि प्रहरीले पैसा लिएर खोजविन नै नगरी मान्छे फेला नपरेको भन्दै कागज बनाएर जिल्लामा पठाएको स्थानीय प्रत्यक्षदर्शी बताउँछन् ।
ठगी मुद्दाका आरोपी यादव खुलेआम रुपमा गाउँघर मै घुमि रहे पनि प्रहरीले नखोजेरै नभेटिएको भनी मुचुल्का कागज गर्नु कहाँको नियमसंगत कानून हो, एक स्थानीय बताउँछन । उहाँ भन्नुहुन्छ, “पैसा दिएमा कुनै कानून पनि कानून नलाग्ने यो कस्तो प्रहरी प्रशासन हो, अदालतले पक्राउ गर्ने आदेश गरेको छ, तर प्रहरीले समात्दैन उल्टै पैसा खान्छ ।”
यस विषयमा बेतहनी प्रहरी चौकीका इन्चार्ज असई गंगा थापाले स्पष्ट जवाफ नदिई यादवलाई खोजविन गरि जिल्लामा पठाउने भनि आदेश अनुसार आफुले घरमा खोजेको तर नभेटेपछि मुचुल्का कागज बनाएर पठाएको बताउनुभयो । उहाँले आफुले पैसा लिएर कागज बनाएको विषयमा केही बोल्नु भएन ।
घरपरिवारको एक्लो घरमुलीको रुपमा रहनु भएकी बाँके डुडुवा–२ उचुवा बाबाकुट्टीकी ७५ वर्षिय कबुतरादेबी अहिरले डेढ वर्ष अघि रामआसरेसंग ऋणका लागि पैसा मागेको बेला रामआसरेले नेपालगन्ज स्थित मालपोत कार्यालयमा ल्याएर रु. आठ लाखमा करिब दुई कठठा जग्गाको झोक्काएर दृष्टि बन्धक गरि बजारमा पैसा चोरी हुने डर रहेको र घरमा दिने भनेर ल्याएको तर उनलाई यादवले कति पनि पैसा नदिएर आलटाल गरेर टार्दै गए ।
कबुतराले तमसुक भनेर सही छाप गरेको तर पछि जग्गा नै कब्जा गरेपछि आफु न्यायका लागि अदालतसम्म पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई फकाएर ऋणको पैसा दिने लोभमा एक रुपियाँ पनि दिएन, उल्टै मेरो जग्गा हड्प्यो, मैले पछि थाहा पाए ।” कबुतराको ठगी विरुद्धको निवेदन समेत प्रहरी कार्यालयले दर्ता गर्न मानेन त्यसका लागि उच्च अदालतको परामादेशपछि मात्र मुद्दा दर्ता भयो र हाल अदालतले उक्त मुद्दामा पक्राउ पुर्जी जारी गरेपनि आरोपी अझै पक्राउ नपरेर प्रहरीले समेत संरक्षण गरेको छ ।
लेनदेनको कार्यमा निकै सक्रिय यादवले गाउँका अन्य व्यक्तीहरुलाई समेत ठगी गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । यस विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्तिमगरसंग बुझ्दा आफुलाई यस घटनाबारे जानकारी नभएको भन्दै तत्काल बुझेर अनुसन्धान गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *