Sunday, April 26सत्यम खबर
Shadow

अङ्गप्रत्यारोपण गरेका खेलाडीहरुको शानदार जित

नेपालगन्ज, १० बैशाख – विभिन्न अङ्ग प्रत्यारोपण गरेका व्यक्ति तथा अङ्गदान गरेका व्यक्तिहरु पनि समाजमा अन्य व्यक्ति सरह स्वस्थ र सक्रिय जिवन जिउन सक्छन भन्ने सन्देश फैलाउन सन् २०१० देखि विभिन्न अंगदान तथा प्रत्यारोपण गरेका व्यक्तिहरु मिलेर अन्य विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोग र सहकार्यमा नेपालमा हरेक वर्ष प्रत्यारोपण खेलकुद तथा अङ्गदान सचेतना सम्बन्धि विभिन्न कार्यक्रमहरु आयोजना गरिदै आएको जनाईएको छ ।
आरोग्य फाउन्डेसनले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न खेलकुद कार्यक्रम तथा अङ्गदानको क्षेत्रमा काम गर्ने संस्था वल्र्ड ट्रान्सप्लान्ट गेम्स फेडरेसनको आधिकारिक सदस्यता प्राप्त गरि नेपालको तर्फबाट प्रतिनिधि संस्थाको मान्यता समेत पाएको छ । र फेडरेसनको लागि नेपालको तर्फबाट आधिकारिक प्रतिनिधि आरोग्य फाउन्डेसनकी अध्यक्ष, आनी छोइंग डोल्मा मोक्तान लामा र टिम मेनेजरको रुपमा मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति हरिनारायण शर्माले प्रतिनिधित्व गरिरहेको बताईएको छ ।
वल्र्ड ट्रान्सप्लान्ट गेम्स फेडरेसनले प्रत्येक दुई दुई वर्षमा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न किसिमका अन्तर्राष्ट्रिय प्रत्यारोपण खेलकुद प्रतियोगिताहरु नियमित रुपमा आयोजना गर्दै आइरहेको छ । यस वर्ष पनि अष्ट्रेलियाको पर्थ शहरमा अन्तर्राष्ट्रिय प्रत्यारोपण खेलकुद प्रतियोगिता यहि अप्रिल १५ देखि २१ सम्म भव्य रुपमा सम्पन्न भएको छ । उक्त प्रतियोगितामा विभिन्न ४६ देशबाट देशको प्रतिनिधित्व गर्दै १६०० जनाभन्दा वढि प्रत्यारोपण गरेका व्यक्ति तथा अङ्ग दाताहरुले भिन्न भिन्न विधाका खेलकुद कार्यक्रमहरुमा प्रतिष्पर्धा गरेका छन ।
यस कार्यक्रमलाई खेलकुदका अलावा नयाँ जिवनको उत्सवका रुपमा र अंगदान सचेतनाको सबैभन्दा भव्य र ठलो कार्यक्रमको रुपमा समेत मनाइन्छ । यस वर्ष उक्त प्रतियोगिमा नेपालको तर्फबाट देशको प्रतिनिधित्व गर्दै टिम मेनेजर हरिनारायण शर्माको नेतृत्वमा सन् २०१० देखि लगातार रुपमा राष्ट्रिय प्रत्यारोपण खेलकुदमा भाग लिई विजेता बनेका मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरु (ध्रुब बिक्रम मल्ल, गिता श्रेष्ठ, विष्णलाल तुसु श्रेष्ठ तथा कलेजो प्रत्यारोपण गरेका असिम कुमार लम्साललाई आरोग्य फाउन्डेसन तथा नेपाल प्रत्यारोपण खेलकुद संघको तर्फबाट छनोट गरि भाग लिन पठाइएको थियो । मिर्गौला प्रत्यारोपण गरेको १७ वर्ष पुगिसकेका वल्र्ड ट्रान्सप्लान्ट गेम्स फेडरेसनका लागि नेपालका तर्फबाट आधिकारिक टिम मेनेजर हरिनारायण शर्माले नेपालमा पहिलो पटक अन्य प्रत्यारोपण गरेका व्यक्तिहरुलाई समेटेर सन २०१० मा नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगिता शुरु गराउन विशेष भुमिका तथा नेतृत्व समेत गरेका थिए ।
हालसम्म नेपालमा १३ औं संस्करण सम्म हरेक वर्ष राष्ट्रिय प्रत्यारोपण खेलकुद कार्यक्रमको सफल आयोजना समेत भइसकेको छ । र यसबर्ष टिम मेनेजर शर्माको नेतृत्व र पहलमा नेपालको तर्फबाट ५ जना खेलाडिको टिमले देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रत्यारोपण खेलकुद कार्यक्रममा प्रतिष्पर्धा गरि देशका लागि ७ वटा मेडल तथा अवार्ड जित्न सफल भएका छन् । नेपालबाट सहभागि प्रत्यारोपण गरेका खेलाडिहरुले ५ किलोमिटर दौड, एथलेटिक्स विधाका १००, २००, ४००, ८०० मिटर दौड, हाइ जम्प, लंग जम्प, टेवल टेनिस, व्याडमिन्टन, सटपुट तथा ज्याभलिन लगायतका खेलकुदमा अन्य ४६ देशका खेलाडिसँग प्रतिस्पर्धामा भाग लिएका थिए । जसमध्ये गिता श्रेष्ठले हाइजम्पमा रजत पदक, १०० र ४०० मिटर दौडमा कास्य पदक जितेकी छिन । विष्णुलाल तुसु श्रेष्ठले हाइ जम्पमा रजत पदक तथा लंग जम्प र १०० मिटर दौडमा कास्य पदक जितेका छन ।
साथै असिम कमार लम्सालले ८०० मिटर दौडमा रजत पदक जितेका छन । आफ्नो देशको प्रतिनिधित्व गर्दै विभिन्न विधाका यी अवार्डहरु जित्न सफल यो अवसर नेपालको अङ्ग प्रत्यारोपणका क्षेत्रमा काम गरिरहेका संघसंस्था, व्यक्तिहरु, देशका सवै अङ्ग प्रत्यारोपण तथा अङ्गदान गरेका व्यक्तिहरु तथा देशको लागि समेत गौरव र प्रतिष्ठाको कुरा हो । साथै यस जितले देशमा रहेका सबै अङ्ग प्रत्यारोपण गरेका व्यक्ति, अङ्गदाता तथा प्रत्यारोपणको पर्खाइमा रहनुभएका सम्पूर्ण विरामीहरुको लागि पनि हौसला र प्रेरणा मिलेको छ । र यस जितले अंगदान र प्रत्यारोपण गरेका व्यक्तिहरुले पनि देशको लागि धेरै नै योगदान गर्न सक्छन भन्ने सन्देश समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *