
नेपालगन्ज, ९ असोज – कोरोना भाइरस संक्रमित बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ एक्लैनीका ५२ बर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शुक्रबार बिहान २ः२५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।
स्वास्थ्यमा समस्या देखिएपछि ती पुरुषलाई मंगलवार अस्पताल भर्ना गरिएको थियो । बुधवार उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई रेमडिसिभिर औषधि समेत दिइएको थियो ।

उनको दुवैतिरको फोक्सोमा निमोनिया भएको उपचारमा संलग्न चिकित्सकहरुले बताए । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमण पुष्टि भएको ज्यान गुमाउनेको संख्या ४ महिलासहित १२ पुगेको छ ।
