
नेपालगन्ज, ९ फागुन – महिलाहरुलाई उद्यमगर्न प्रेरित गर्दै लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी नेपालगन्जमा सम्पन्न भएको छ । फागुनको ५ गतेदेखि नेपालगन्ज बागेश्वरी मन्दिर परिसरमा चलेको लुम्बिनीप्रदेश स्तरीय प्रदर्शनीमा महिला उद्यमीहरुले स्थानीय कच्चा पदार्थको प्रयोग गरी निर्माण गरेका सामाग्री, उत्पादन र वस्तुहरु प्रदर्शनीमा राखिएको थियो ।
नेपालगन्जमा भएको प्रदर्शनीको सातौं संस्करणमा करिब १० लाख भन्दा बढिको कारोबार भएको आयोजक महिला उद्यमी संघ नेपालबाँके वरिष्ठ उपाध्यक्ष एवम् प्रदर्शनी संयोजक साबित्री बस्नेतले बताईन् ।
प्रदर्शनीको अन्तिम दिन सानो पुजीबाट आफनो व्यवसाय सुरु गरेर सफलता हासिल गरेका तिन जना सफल महिला उद्यमीलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा नेपालमा अल्लोको प्रवद्र्धनमा महत्वपुर्ण योगदान गरेकी प्रेम नि.श. अल्लो धागो तथा तयारी पोशाक उद्योग घोराही दाङकी सञ्चालक प्रेम कुमारी पुन, बुटिक व्यवसायमा सफलता हासिल गरेकी द बज फेशन वेयरकी सञ्चालक सिमिता राणा र स्थानीय स्तरमा जुत्ता उत्पादन गरेर सफलता प्राप्त गरेकी राप्ती सु–उद्योगकी सञ्चालक सुराजन मियाँलाई सम्मान गरिएको छ ।
मंगलबार भएको प्रदर्शनीको समापन समारोहका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका मेय प्रशान्त विष्टले प्रदर्शनीले महिलाहरुलाई आत्म निर्भर तर्फ बन्नमा प्रेरित गरेको बताए ।
आगामी दिनमा प्रदर्शनीलाई थप प्रभावकारी बनाउन उपमहानगरपालिकाले सहयोग गर्ने भन्दैं मेयर विष्टले समाजमा आर्थिक विकासको निम्ति महिलाहरु आर्थिक रुपमा आत्म निर्भर हुन जरुरी रहेको बताए । उनले भने, ‘संविधानले हरेक क्षेत्रमा महिलाहको हक र अधिकारलाई सुनिश्चत गरेको छ । तर हाम्रो समाजमा अझै पनि महिलालाई उद्यम, व्यवसायमा लाग्न सहज छैन । समाज र देशको विकास गर्ने हो भने महिला र पुरुषको हरेक क्षेत्रमा सहकार्य हुन पर्छ । महिला बिना देशले कुनै राजनिति होस या आर्थिक रुपान्तर, त्यो सम्भव हु“दैन ।’
महिला उद्यमी संघ नेपाल लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्माले महिलाले आफनो सीप र क्षमतालाई सदुपयोग गर्दै एक अर्कामा सहकार्य गरेर उद्यम तर्फ लाग्नु पर्ने बताईन् । उनले भनिन,‘प्रदर्शन आज सफलतापुर्वक सम्पन्न भएको छ । यसमा हामी खुसी छौं । अझै पनि हामीले सीप भएर पनि घर भित्र लुकेर बसेका महिलाहरुलाई उद्यम, व्यवसायसँग जोडन सकेका छैनौं । उनीहरुलाई महिला उद्यम संघ नेपालले हरेक वर्ष क्षमता अभिवृद्धि र सीपलाई सदुपयोग गर्नमा योजनावद्धमा रुपमा काम गर्नेछ ।’
महिला उद्यमीलाई बजारीकरणमा सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा बाँके, बर्दिया, दाङ, रुकुम, रोल्पा, रुपन्देही, कपिलवस्तु, प्युठान, सुर्खेत लगायतका जिल्लाबाट आएका उद्यमीले आफनो उत्पादन र वस्तुहरु प्रदर्शनीमा राखेका थिए । नेपालगन्ज उपमहानगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय बाँकेले प्रदर्शनी गर्नमा आर्थिक सहयोग गरेको थियो । प्रदर्शनीका दौरान आयोजकले विभिन्न राजनितिक दलबाट स्थानीय, प्रदेश र संघीय सरकारमा निर्वाचित भएका महिला नेतृहरुलाई सम्मान समेत गरेको थियो ।
प्रदर्शनीको अन्तिम दिन कोहलपुर नगरपालिका उपमेयर संगीता सुवेदी, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल र जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवलाई आयोजकले सम्मान गरेको थियो । आयोजकको तर्फबाट महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष निरुपमा रस्तोगी, नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्ट र महिला उद्यमी संघ नेपाल लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्माले सम्मान गरेका थिए ।
बाँकेमा महिला उद्यमीहरुका क्षेत्रमा सक्रिय भएर काम गरिरहेको संस्था हो महिला उद्यमी महासंघ नेपालबाँके शाखा । जसले स्थापनाकालदेखि नै महिला उद्यमीका सीपलाई निर्खादैं व्यवसायिकरण गर्ने बाटोमा सफलता हासिल गर्दै गएको प्रदर्शनी संयोजक बस्नेतले बताईन ।
प्रदर्शनीले महिलाउद्यमीलाई आफनो व्यापार र उद्यमलाई बजारीकरण गर्नमानयाँउत्साह र प्रेरणा प्रदान गरेको अध्यक्ष रस्तोगीले बताईन् ।
