
काठमाण्डौ, ८ फागुन – लगातार ३२ वर्षदेखि चीनले आफ्ना विदेशमन्त्रीलाई नयाँ वर्षको पहिलो कूटनीतिक भ्रमणका लागि अफ्रिका पठाउने गरेको छ। नवनियुक्त विदेश मन्त्री किन ग्याङले पनि आफ्नो कार्यकालको पहिलो विदेश भ्रमण नयाँ वर्षको अवसरमा अफ्रिकाबाट सुरु गरेका छन्।
उनले इथियोपिया, ग्याबोन, अंगोला, बेनिन, इजिप्ट, अफ्रिकी संघको मुख्यालय र अरब राज्यहरूको मुख्यालयको भ्रमण गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। तर किन इथियोपिया आइपुग्नु भन्दा पहिले उनी बंगलादेशमा रोकिए भन्ने प्रश्न उठेको छ।
चीनको विदेश मन्त्रालयले यसलाई ‘प्राविधिक रोकावट’ को रूपमा वर्णन गरेको छ। इथियोपियाको भ्रमण अघि उनले बंगलादेशका विदेशमन्त्री अबुल कलाम अब्दुल मोमेनसँग ढाकाको विमानस्थलमा संक्षिप्त भेटघाट गरे।
‘दुई पक्षले चीन र बंगलादेश बीचको मित्रताको विषयमा कुराकानी भएको र नयाँ वर्षको अवसरमा द्विपक्षीय आदानप्रदानलाई सुदृढ गर्न र द्विपक्षीय सम्बन्धमा नयाँ प्रगतिको लागि संयुक्त रूपमा काम गर्न सहमत भएको बताइएको छ।
उक्त भ्रमणलाई अप्रत्याशित भ्रमणको रुपमा ब्याख्या गरिएको छ। यसले प्रत्येक वर्ष जनवरीको सुरुमा अफ्रिकी देशहरूसँगको सम्बन्धलाई सम्मान गर्ने चीनको लामो समयदेखिको परम्परालाई कमजोर बनाएको पनि बताइएको छ।
त्यो जटिलताबाट बच्ने प्रयासमा चीन र बंगलादेश दुवैले जोड दिए र यो ‘आधिकारिक’ भ्रमण नभएको बताएका छन् र केवल ‘स्टपओभर’ भएको जनाएको छ। तर तथ्य यो छ कि नयाँ वर्षको पहिलो व्यक्तिगत भेटघाट र वास्तवमा, पदभार ग्रहण गरेपछि उनको पहिलो यस्तो भेट – बंगलादेशका विदेश मन्त्रीसँग भएको थियो, अफ्रिकी राज्यका अधिकारीसँग होइन।
बंगलादेशी मिडियाका अनुसार, ‘परराष्ट्र मन्त्री मोमेनले आफ्ना चिनियाँ समकक्षीलाई बिहान १:५८ बजेको समयमा स्वागत गरे।’ दुईजनाले एक घण्टाभन्दा कम समय भेटवार्ता गरे २:५० मा प्रस्थान गरेको खुलेको छ।
भेटपछि बंगलादेशी सञ्चारमाध्यमलाई दिएको टिप्पणीमा उनले चिनियाँ विदेशमन्त्रीसँगको कुराकानीले दुई देशबीचको ठूलो व्यापार घाटालाई कम गर्ने कुरामा जोड दिए। बंगलादेशले प्रत्येक वर्ष चीनबाट करिब १३ अर्ब डलरको सामान आयात गर्छ भने चीनतर्फको निर्यात ८० करोड डलरभन्दा कममा अड्किएको छ।
युक्रेन युद्धबाट उत्पन्न विश्वव्यापी आर्थिक उथलपुथलको बीचमा विदेशी मुद्रा सञ्चितिको अस्थिर अवस्थालाई ध्यानमा राख्दै ढाकाको लागि १२ अर्ब डलरभन्दा बढीको घाटा विशेष चिन्ताको विषय हो।
चीनबाट पूरा नभएका वाचाहरूबारे मोमेनको टिप्पणीमा निराशा प्रस्टै देखिन्थ्यो। उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको सन् २०१६ को बंगलादेश भ्रमणले धेरै लगानीका प्रतिबद्धताहरू भएको उल्लेख गरे जुन ६ वर्षपछि पनि पूरा हुन सकेन। यसअघि ९८ प्रतिशत बंगलादेशी सामानमा भन्सार र कोटा हटाउने सम्झौता कार्यान्वयन नभएको पनि मोमेनले गुनासो गरेका थिए। नेपालपाना
