
नेपालगन्ज, ४ फागुन – नक्कली नोटसहित तीन जनालाई जिल्ला प्रहरी बाँकेले पक्राउ गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४, न्यूरोडबाट ५ लाख ६९ हजार रुपैया नक्कली नोटसहित कोहलपुर नगरपालिकाका मोहन कुमाई, सल्यान बनगाडका मोहन राना र तुर्माखाद अछामका दिपक विसीलाई पक्राउ गरेको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तिमगरले नक्कली नोटको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र बाँके प्रहरीले उनीहरुलाई नोटसहित पक्राउ गरेको जानकारी गराउनुभयो ।
पक्राउ परेका व्यक्तिहरुले नक्कली नोट कहाँबाट छापेर ल्याए, कसरी ल्याए, कति सटही गरे भन्ने बारेमा अनुसन्धान भइरहेको प्रवक्ता घर्तिमगरले अनुसन्धान भइरहेको बताउनु भएको छ ।
नेपालगन्जमा केही दिनअघि नक्कली नोट छाप्ने मेसिनसहित केही रकम बरामद भएको थियो । यी घटनालाई हेर्दा बजारमा नक्कली नोट छ्याप्छ्याप्ती रहेको आशंका गरिएको छ ।
यसैबीच, प्रहरीले ५० ग्राम लागु औषधी ब्राउनसुगरसहित पक्राउ परेका तीन जनालाई पनि बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
माघ २६ गते नेपालगन्ज उपमहानगरपालिका वडा नं. १, वाटरपार्कबाट पक्राउ परेका रुकुम पश्चिम सानोभेरीका तिलक डाँगी, सोविराम केसी र विनोदकुमार गौतमलाई समेत प्रहरीले सार्वजनिक गरेको हो ।
