Friday, April 24सत्यम खबर
Shadow

आयोजक जय किसान स्पोर्टस क्लब च्याम्पियन

नेपालगन्ज, २९ माघ – आयोजक जय किसान स्पोर्टस क्लबले दोस्रो स्व. श्यामथापा स्मृति फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । आईतबार जय किसान स्पोर्टस क्लबले बागमति स्पोर्टस क्लबलाई २–० ले पराजित गरेको छ ।
जय किसानले लगातार दोस्रो पटक प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । प्रतियोगिताको पहिलो संस्करणमा जय किसानले कैलाली मसुरिया फुटबल क्लबलाई हराउँदै उपाधि जितेको थियो ।
आईतबार जय किसानलाई लगातार दोस्रो पटक उपाधि दिलाउन निशान डाँगीले २ गोल गरे । खजुरा गाउँपालिका वडा नम्बर १ स्थित मैटहवा माविको खेल मैदानमा भएको फाइनल खेलमा डाँगीले खेलको २५ औं र ८० औं मिनेटमा गोल गरेका थिए ।
प्रतियोगितामा जय किसानका प्रविणकुमार सुनार सर्वोत्कृष्ट खेलाडी, जय किसान कै कृष्ण क्षेत्री सर्वाधिक गोलकर्ता र बागमतिका करण शाही उत्कृष्ट गोल किपरको रुपमा पुरस्कृत भए ।
प्रतियोगिताको विजेता टिम जय किसान स्पोर्टस क्लबले नगद रु १ लाख २१ हजार रुपैयाँ र उपविजेता बागमतिले ६१ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्रविणले ६ हजार, सर्वाधिक गोलकर्ता कृष्णले ५ हजार र उत्कृष्ट गोल किपरले करणले ५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको विजेता, उपविजेता, सर्वोत्कृष्ट, उत्कृष्ट गोल किपर र सर्वाधिक गोलकर्ता खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, स्व. श्याम थापाकी धर्मपत्नी यामकुमार थापा, अखिल नेपाल फुटबल संघ केन्द्रिय सदस्य भोजराज शाही, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, आयोजक क्लब जय किसान स्पोर्टस क्लबका अध्यक्ष दिपु राना, महासचिव दिपक राना, प्रतियोगिताको मुख्य प्रायोजक बाँके बर्दिया मैत्री समाज जापानका प्रतिनिधि सागर पाण्डे, लिलबहादुर मल्ल, लुम्बिनी–कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष दुर्गा थापा, लुम्बिनी प्रदेश भलिबल संघ उपाध्यक्ष कृष्णा पाठक, उपेन्द्र क्षेत्री एन्ड एशोसियसटका सिए उपेन्द्र क्षेत्री, अंकित थापा बुबा चन्द्र थापा, खजुरा गाउँपालिका वडा नम्बर १ अध्यक्ष मनवीर क्षेत्री, इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरिक्षक प्रेमप्रसाद रेग्मी, खजुरा गाउँपालिका खेलकुद विकास समिति सदस्य सचिव छवि विष्ट, बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष निर्मल चन्दलगायतले पुरस्कार प्रदान गरेका थिए ।
जय किसान स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगितामा नेपाल र भारतका गरी १३ नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *