नेपालगन्ज, ७ असोज – नरैनापुर गाउँपालिका वडा नं–३ बाँके जिल्ला स्थित बाबा बर्फानी मन्दिरका बाबा बर्फानीमाथि भएको सांघतिक हमलाप्रति हिन्दूवादी संघ, संस्थाहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
बुधबार हिन्दुवादी संघ, संगठनले घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्रमा नेपालमा साधु सन्तसहित सर्वसाधारण समेत सुरक्षित नरहनु दुभाग्र्यपूर्ण भएको उल्लेख गरिएको छ ।
हिन्दु धर्मालम्बीहरुको आस्थासँग जोडिएको मर्ममाथि भएको आक्रमणले सम्पूर्ण हिन्दु समाज मर्माहित भएको भन्दै घट्नाको घोर निन्दा गर्दै उक्त घट्नामा संलग्न व्यक्तिहरुलाई यथाशिघ्र कानूनको घठघरामा ल्याई प्रशासनमार्फत सार्वजनिक गर्न माग गरिएको छ ।
साथै बाबा बर्फानीको सुरक्षा व्यवस्था मिलाउन माग गर्दै निरन्तर हिन्दु आस्था र बाबामाथिको आक्रमणको घट्ना बढ्नुले बाँकेको फितलो सुरक्षा प्रमाणित गरेको हिन्दू आस्थाका संघ, संगठनहरुको ठहर रहेको छ ।
बिश्व हिन्दु परिषद नेपालका अध्यक्ष बृजेशबहादुर सिंह, शिवसेना बाँकेका अध्यक्ष राजकुमार रौनियार, आर्य समाज कोषाध्यक्ष श्याम शाक्य, नेपाल शिवसेनाका मंगल घर्तिमगर र सनातनी मञ्चका गौरव जयसवालले बुधबार संयुक्त रुपमा ज्ञापन–पत्र जिल्ला प्रमुख कुरुम्वाङलाई बुझाएका छन् ।