Wednesday, April 15सत्यम खबर
Shadow

पृथ्वी जयन्तीमा विविध कार्यक्रम, शाहले दिएको उपदेश कति फलदायी

नेपालगन्ज, २७ पौष – नेपाल सरकारद्वारा विधिवत मन्त्री परिषदबाट निर्णय गरी यस पटक पृथ्वी जयन्ती तथा राष्ट्रिय मेलमिलाप दिवस मनाउने गरी बिदा गरिएकोमा देशभरीका सर्वसाधारण नेपाली जनताहरुले स्वागत गरेका छन् ।
विगत ०६२–०६३ को आन्दोलनबाट स्थापित गणतन्त्र स्थापनाकालदेखि नै राष्ट्र निर्माता पृथ्वी नारायण शाहको पृथ्वी जयन्ती मनाउनु पर्छ भनी सर्वसाधारणबाट पटक–पटक आवाज उठ्दै आएता पनि १६ वर्षपछि यस पटक विधिवत बिदा गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने अवसर पाएकोमा नेपालगन्जबासीहरुले स्वागत गरेका छन् ।
पृथ्वी जयन्ती कै अवसरमा नेपालगन्जमा विविध कार्यक्रमहरुको आयोजना समेत विभिन्न संघसंस्था तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको छ ।
नेपालगन्जको मुटु मानिएको त्रिभुवन चोकमा आज संकल्प तथा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको छ । बुधबार साँझ ५ आयोजना गरिने संकल्प तथा दिप प्रज्वलन कार्यक्रमका आयोजक धर्म निरपेक्षता खारेजी अभियान बाँके संघर्ष समितिका कोषाध्यक्ष राजेश जलान “बिद्रोही’ ले भब्य र सभ्य तवरले यस जयन्तीलाई मनाउने बताउनुभयो ।
यसैगरी सार्वजनिक सञ्जालको प्रयोग गर्दै नेपालगन्जका व्यवसायी ललित रौनियारले ‘पृथ्वीनारायण शाहको जयन्ती मात्रै मनाउने कि उनले दिएका उपदेशलाई पनि आत्मसात गर्ने ? निश्चित रूपमा जहाँपनि इतिहास बिजेताहरुले लेख्छन् र गुणगान पनि आफ्नै गरेका हुन्छन् । तर कुनैपनि अभियान ब्यक्तिको एक्लो प्रयासले सफल भएको हुँदैन् । त्यसकारण नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह लगायत सम्पूर्ण सहयोगीहरु प्रति नमन छ । साथै त्यतिबेला गरिएका क्रुर कदमहरुको भर्त्सना पनि गर्दछु’ भनी उल्लेख गरेका छन् ।
उनले अगाडी लेखेका छन् ‘अहिले नेपालको अर्थतन्त्र पूर्णत आयात केन्द्रित छ, सियोदेखि मसलासम्म विदेशबाट मगाउनु परिरहेको छ । फुलमालादेखि जनै, टपरा, रक्षा बन्धन, तास समेत बाहिरबाट मगाउनु परेको छ । धान फल्ने जिल्ला बाँके, बर्दिया, कैलाली, झापा, मोरंग लगायतका तराईमा समेत चामल बाहिरबाट आउ“छ, कत्ति दुखको कुरो हो ! मजदुर बिचमा राजनीतिक समुह बनाएर देशमा चलिरहेका स्थापित उद्योगधन्दा ध्वस्त पार्ने, स्वदेशी उद्योगलाई चल्न नदिने विदेशबाट सामान ल्याउन पाए मोटो कमिशन प्राप्त गर्ने आदि कारणहरूले गर्दा नेपालका नीति निर्मातादेखि राजनैतिक व्यक्तिसम्म देशको अर्थ व्यवस्था ध्वस्त बनाउन लागिरहेका छन्’ भनी गुनासो समेत पोख्नु भएको छ ।
अगाडी लेख्नु हुन्छ ‘देशलाई समृद्ध बनाउने नारा हरेक सरकारले दिने गरेको भएपनि देशमा औद्योगीक विकासको स्पष्ट खाका कुनैपनि राजनीतिक पार्टीबाट कोरिन सकेको छैन । तर पृथ्वीनारायण शाहले ३०० वर्ष अघि नै भनेका थिए कि ‘देशमा बाहिरका महाजनहरु आया भन्या देशलाई कंगाल गरि छोड्छन’ ‘देशमा बाहिरका कपरा (लुगा) लगाउनालाई मन्हाई गरिदिनु’ ‘आफ्ना देशका कपरा बुन्न जान्यालाई नमुना देखाई सघाउनु र बुन्न लाउनु’ ‘यसो भया नगद देश बाहिर जाँदैन’ ‘आफ्ना देशका जिन्सी, जडिबुटी देस (बाहिर) लैजानु र नगद खिची राख्नु’ ‘प्रजा मोटा भया दरवार बलियो रहन्छ’ ल हेर्नुस कत्ति मिठो उपदेश छ’ भनी उल्लेख गरेका छन् ।
राजनीतिक निकासका लागि उनले सुझाव समेत सार्वजनिक सञ्जालमार्फत दिएका छन् । उनले अगाडी लेखेका छन्– ‘बाहिरबाट आउने आयातित सामान बारेमा सिप सिकेर आउनु नेपाल मै उद्यम चलाउनु, नेपालको जडिबुटी लगायतको उत्पादन बाहिर पठाउनु, त्यसो भयो भने बिदेशी मुद्रा नेपालमा आउँछ, बिदेशी मुद्रा ल्याएर जनता धनी भए भने देश स्वतः धनि हुन्छ भनेर कत्ति मिठो सन्देश दिएका छन् पृथ्वी नारायण शाहले अनि यस्तो मिठो सन्देश दिने पृथ्वी नारायण शाह दलालहरूको आँखामा बिझाउने नै भएर नि !’ भनी मिठो कठाक्ष समेत गरेका छन् ।
यसैगरी, नेपाल शिवसेनाले समेत पृथ्वी जयन्तीको अवसरमा बृहत कार्यक्रमहरुको आयोजना गरेको छ । स्थानीय पर्यटकीय धार्मिक स्थल बागेश्वरी मन्दिर पार्कमा भेला भई विविध कार्यक्रमको आयोजना हुने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *