काठमाण्डौ, ८ पौष – सर्वोच्च अदालतको फैसलापछि जेलमुक्त भएका सिरियल किलर चार्ल्स शोभराजलाई आजै फ्रान्स पठाइने भएको छ।
उनलाई डिपोर्ट गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइएको अध्यागमन विभागकी निमित्त प्रमुख प्रदर्शनी कुमारीले जानकारी दिइन्।
शोभराजलाई शुक्रबार साँझ ६ बजेको फ्लाइटबाट फ्रान्स पठाउन लागिएको हो। उनलाई कतार एयरवेजमा राखेर लग्न लागिएको हो।
यस्तै अध्यागमन विभागले उनलाई नेपालमा १० वर्षसम्म आउन नपाउने गरी प्रतिबन्ध लगाएको कुमारीले बताइन्।
बुधबार सर्वोच्च अदालतले १९ वर्ष दुई महिना जेल सजाय भोगिसकेका शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको थियो। सम्भव भएसम्म त्यही दिन कैदमुक्त गर्न आदेश दिए पनि कागजी प्रक्रियाका कारण ढिलाइ भएको थियो।
कागजी रूपमा हिजै कैदमुक्त भएपनि उनी त्यहीँ बसेका थिए।
आजमात्रै उनलाई अध्यागमन विभागमा पुर्याएको थियो। अध्यागमन विभाग पुर्याएसँगै उनलाई डिपोर्टको प्रक्रिया अघि बढाएको हो।