नेपालगन्ज, ३१ भाद्र – बाँकेमा सोमबार १३ महिलासहित २४ जना कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्ज, कोहलपुर मेडिकल कलेज पिसिआर ल्याब र बागेश्वरी ल्याबद्वारा आज बुधबार जारी गरिएको विवरण अनुसार सिम्टा सुर्खेत, कैलाली, बर्दिया, बाँकेको खजुरा, कोहलपुर, राप्तीसोनारी, नेपालगन्जका कोरोना संक्रमित देखिएका छन् ।
हालसम्म बाँके जिल्लामा १ हजार ५ सय ३६ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ८८ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ४ सय ४० जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७०.८३ रहेको छ भने बिरामी मृत्यु दर ०.५२ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२६ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित ८ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।