नेपालगन्ज, ३१ भाद्र – बाँकेमा अबदेखि कुनै पनि लक्षण बिनाका कोरोना संक्रमित र सामान्य लक्षण सहितका संक्रमित व्यक्ति होम आइसोलेसन मै बस्नु पर्ने भएको छ ।
बाँके जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकबाट यस्तो निर्णय गरिएको छ ।
कोभिड–१९ संक्रमण भएका तर लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितहरुलाई होम आइसोलेसन सम्बन्धि राष्ट्रिय निर्देशिकाले तोकेको मापदण्ड बमोजिम सम्बन्धित पालिकाको स्वास्थ्य शाखाको संयोजकत्वमा नियमित अनुगमन र सुपरिवेक्षणमा रहने गरी होम आइसोलेसनमा राख्ने व्यवस्था सहितको निर्णय गरिएको निमित्त प्रजिअ प्याकुरेलले बताउनुभयो ।
त्यसैगरी, बैठकले संक्रमितको अक्सिजन लेभल मापन गर्नका लागि प्रत्येक स्थानीय तहले स्वास्थ्य शाखामा प्रयाप्त संख्यामा पल्स अक्सिमिटरको व्यवस्था गर्नुपर्ने निर्णय पनि गरेको जनाउनुभयो ।