Sunday, April 26सत्यम खबर
Shadow

कोभिड–१९ का कारण क्षयरोगी पहिचान कार्य पनि प्रभावित

नेपालगन्ज, २९ भाद्र – नेपाल क्षयरोग निवारण संस्था (नाटा) बाँके शाखाको आयोजनामा नेपालमा क्षयरोग र एचआइभी सेवाको पहुँचमा मानव अधिकार र लैंगिक अवरोध न्युनिकरण कार्यक्रम सम्बन्धि सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
आईतवार जिल्लाका सरोकारवालाहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । संस्थाका केन्द्रीय सदस्य सेमराज शाक्यले मन्तव्य व्यक्त गर्दै शुभारम्भ गरिएको उक्त कार्यक्रममा जिल्लाका सरकारी तथा गैरसरकारी संघ संस्थाका करीब दुई दर्जन प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


नाटाका केन्द्रीय सदस्य शाक्यले क्षयरोग कुनै पनि जाति धर्म वा सम्प्रदायलाई लाग्न सक्ने भएकोले यसको उपचारको लागि नेपाल सरकारले निःशुल्क औषधि तथा अन्य सेवाहरु प्रदान गर्दै आएको बताउँदै उनीहरुको स्वस्थ भई बाँच्नका लागि पनि विभिन्न किसिमका सेवा सुविधाहरु उपलब्ध गराउने कानूनी व्यवस्था रहेको बताउनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका निमित्त कार्यलय प्रमुख सुनिता पौडेलले विश्वव्यापी महामारीको रुपमा फैलिएकोे कोभिड–१९ को संक्रमण बढ्दै गएको कारण पनि क्षयरोगी पहिचान गर्नमा र गर्भवति महिलाको मृत्यु दर न्यूनिकरण कार्य प्रभावित भएको बताउनुभयो ।
उहाँले राष्ट्रिय क्षयरोग केन्द्रको लक्ष अनुसार बाँके जिल्लामा गत आर्थिक वर्षमा १ हजार २०० जना क्षयरोगीहरुको पहिचान गर्नु पर्नेमा ८ सय ५० मात्र पहिचान हुन नसकेको जानकारी दिंदै यो पनि स्वास्थ्य क्षेत्रका जनशक्ति कोभिड–१९ को रोकथाम र नियन्त्रणको अभियानमा फ्रन्ट लाइनमा रहेर क्रियाशील रहनु गरेको कारण पनि अन्य कामहरु प्रभावित भएको बताउनुभयो ।


त्यसैगरी चालु आर्थिक वर्षको शुरुको डेढ महिनाको अवधिमा ६ जना गर्भवति महिलाहरु कोभिडको संक्रमणको कारण ज्यान गएको र यो हिसाबले मातृ मृत्यु दर बढेको अनुमान लगाउन सकिने बताउनुभयो ।
कार्यक्रममा स्रोत व्यक्तिको रुपमा नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाका पूर्व सभापति पूर्णलाल चुकेले पावर प्वाइन्टको माध्यमद्वारा गरिएको प्रस्तुतीमा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै समाजमा विद्यमान क्षयरोग सम्बन्धि समस्या पहिचान गरेर सरोकारवालाहरुले आ–आफ्नो क्षेत्रबाट न्यूनीकरणको लागि सहयोग गरेर क्षयरोग मुक्त समाजको निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले नेपालमा क्षयरोग र एच.आइ.भी. सेवाको पहुँचमा मानव अधिकार र लैंगिक अवरोध न्यूनीकरण परियोजना अन्तर्गत नेपालका ७ वटै प्रदेशका ५८ जिल्लामा यस्तो कार्यक्रम कार्यान्वयन भएको उल्लेख गर्नुभयो ।


उहाँले क्षयरोगीहरुको अधिकार सम्बन्धि कानूनी व्यवस्था, ससम्मान सेवा पाउने अधिकार, सेवा र रोजगारीको छनौट गर्ने अधिकार, सूचनाको हक, गोपनियताको हक, सामाजिक सुरक्षा, लैङ्गिकता, लैङ्गिक अवरोध हटाउने लगायत क्षयरोगबाट प्रभावित प्रत्येक व्यक्तिलाई नेपाल सरकारोे प्रदान गर्ने सेवा र नीतिगत व्यवस्थाको विषयमा आफ्नो प्रस्तुतिमा उल्लेख गर्नुभयो ।
कार्यक्रममा अर्का स्रोत व्यक्ति नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सरोज रिमालले क्षयरोगको बारेमा परिचय दिंदै नेपाल सरकारले प्रदान गरिरहेको औषधि उपचार तथा विभिन्न सेवा सुविधाहरुको बारेमा चर्चा गर्दै बाँके जिल्ला र नेपालगन्ज उपमहानगरपालिका क्षेत्रको वर्तमान स्थितिको बारेमा प्रस्तुति गर्नुभयो ।
उहाँले क्षयरोग कसरी सर्दछ, क्षयरोगकोे रोकथामका उपायहरु, प्रमुख लक्षण र अन्य लक्षणहरुका बारेमा विस्तृत रुपमा प्रकाश पार्नु भएको थियो । बाँके शाखाका उपसभापति बदरुद्दिन अन्सारीको अध्यक्षतामा सम्पन्न गोष्ठीको सञ्चालन शाखा सचिव सुन्दर शाक्यले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *