Sunday, April 19सत्यम खबर
Shadow

जसपाले २७ वडामा एकैसाथ घरदैलो सुरु गर्ने

नेपालगन्ज, ५ कार्त्तिक – जनता समाजवादी पार्टी बाँकेले निर्वाचन क्षेत्र नं २ का सबै वडाहरूमा आइतबार एकैपटक चुनावी घरदैलो अभियान सुरु गर्ने भएको छ। यो निर्वाचन क्षेत्रमा नेपालगन्ज उपमहानगरपालिकाका २१ वटा र डुडुवा गाउँपालिकाका छ वटा वडाहरू समेटिएका छन्।

यी सबै वडामा एकैपटक घरदैलो कार्यक्रमहरू सुरुवात हुने र त्यसपछि त्यो चुनावसम्मै निरन्तर रहने पनि जसपाले जनाएको छ। घरदैलो कार्यक्रमको सुरूवात जसपाका नेता तथा प्रतिनिधिसभा बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले डुडुवा गाउँपालिका वडा नं ६ बाट गर्नेछन्। त्यसपछि सबै वडामा त्यहाँका अगुवाहरूले घरदैलो कार्यक्रमलाई अघि बढाउनेछन्।

जसपाले शनिबार नेपालगन्जमा राखेको निर्वाचन क्षेत्रस्तरीय बैठक तथा प्रशिक्षणपछि उसले यस्तो निर्णय गरेको हो। बैठकले निर्वाचनका लागि विभिन्न परिचालन कमिटी पनि गठन गरेको छ। जस अन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का लागि राजन राना मगरको संयोजकत्वमा २५१ सदस्यीय चुनावी परिचालन कमिटी गठन भएको छ।

त्यस्तै प्रदेशसभा ‘क’ मा चिन्टु वर्मा संयोजक रहेको ५१ सदस्यीय र ‘ख’मा बुद्धिसागर सुवेदीको संयोजकत्वमा ५१ सदस्यीय चुनाव परिचालन कमिटी गठन भएका छन्।

त्यस्तै जसपाले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने २७ वटै वडाहरूमा पनि त्यस्तै चुनाव परिचालन कमिटी गठन गर्ने निर्णय गरेको छ। बैठकमा क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले एकवद्ध भएर चुनावी अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका थिए।

उनले विपक्षीहरूले जसपाका उम्मेदवारविरूद्ध मतदाताहरूमा फैलाएको भ्रम चिर्न र जनतासँगै रहेर संयम अपनाउँदै चुनावी अभियानमा जुट्न पनि भनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *