
नेपालगन्ज, २ कार्तिक – नेपालमा यति बेला चुनावी मेला चलिरहेको छ । प्रत्येक पार्टीले आ–आफ्नो सामान (उम्मेदवार) बेच्ने (जिताउने) दाउमा रहेको पाईन्छ । त्यसको लागि कहाँ पार्टी प्रवेश गराउनु छ, कहाँ हटाउनु पर्ने छ त्यो खेल पनि चलिरहेकै अवस्था रहेको आम जनताको बुझाईरहेको पाईन्छ ।
यता बाँकेमा पनि त्यो खेल चलिरहेकै अवस्था छैन भन्न मिल्दैन । बाँकेमा झन अन्य स्थान भन्दा बढी चलखेल रहेको पाईन्छ । अहिलेको चुनाव नारा पनि मिश्रित रहेको छ । कसैको एजेण्डा विकास–विकास–विकास, त कसैको जय श्रीराम–जय श्रीराम–जय श्रीराम रहेको छ । तर कसैले पनि यस क्षेत्रलाई रोजगारमूलक गति प्रदान गर्ने खालको योजनाहरु आफ्नो मेनुफेस्टो भित्र समावेश गरेको पाईन्न । जसले गर्दा आर्थिक रुपमा बाँकेलाई अन्य स्थानभन्दा माथि उठाउन सकियोस ।
अहिले बाँकेमा खासगरी क्षेत्र नं. २ मा वर्चश्वको लडाई रहेको देखिन्छ । चुनावी नतिजा के हुन्छ अहिले तत्काल भन्न सकिने अवस्था समेत नरहेको मतदाताहरुको भनाई रहेको छ । मतदाताहरुको भनाईलाई आधार मान्ने हो भने पूर्वमन्त्री ईस्तियाक राई, पूर्व उपमहानगर प्रमुख डा. धवल शमशेर राणा र हिन्दुवादी स्वतन्त्र उम्मेदवार दिवाकर खनाल बीच नै प्रतिस्पर्धा हुने देखिन्छ । तर जातिय हिसाबमा भोट बटेको अवस्था आयो भने पुनः पूर्वमन्त्री ईस्तियाक राईले नै जीत हासिल गर्ने समेत बताउ“छन् ।
जसपाले आफ्नो पक्षलाई बलियो बनाउन माओवादीबाट तत्काल प्रवेश गरेका आदेश आग्रवाललाई प्रदेशमा स्थान दिएको अवस्थाले गर्दा पार्टी भित्रबाट विद्रोहको स्वर उठेपनि केही मतले अग्रता दिएको आम मतदाताको बुझाईरहेको छ भने स्वतन्त्र उम्मेदवारले दिवाकर खनाल र राजकुमार रौनियारले आफ्नो पक्षमा हिन्दुवादी भोट तान्न शिवसेनाको समर्थन लिएको देखिन्छ ।
यसैगरी राप्रपाका बलियो उम्मेदवारको रुपमा रहेका डा. धवल शमशेर राणाले नेकपा एमालेसित तालमेल गरी मैदानमा रहेका छन् । नेकपा एमालेको भोट पनि क्षेत्र नं. २ मा बलियो रहेको पाईन्छ । ९० प्रतिशत पनि नेकपा एमालेको नेता तथा कार्यकर्ताले भोट राणालाई दिएको अवस्था रहेयो भने उनलाई हराउन अरु उम्मेदवारहरुलाई चुनौती जस्तै देखिन्छ भनी मतदाताहरुको मूल्यांकन रहेको पाईन्छ ।
जसपाका बलियो उम्मेदवारको रुपमा रहेका पूर्वमन्त्री राईले जातिगत रुपमा नभई कामको मूल्यांकन गरी भोट दिन मतदाताहरुलाई रिझाई रहेका छन् । त्यसको लागि केही दिन लगातार रुपमा वडा–वडामा सम्पर्क कार्यालयको उद्घाटनलाई तिब्रता दिएका छन् । तर निर्वाचन कार्यालयले जारी गरेको आचारसंहितालाई कतिको पालना गरे त्यसको मूल्यांकन नगरेको देखिन्छ । आचारसंहिताको कुरा गर्नुपर्दा जसपा मात्र नभई अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुले समेत दरकिनार गरेको देखिन्छ ।
तर एउटा कुरा आम मतदाताहरुको मनमा रहेको प्रश्न जस्तै देखिन्छ । उनको भनाई अनुसार विकास विकासको नारा लगाउनेहरुले कंक्रिटले निर्माण भएको कुरालाई मात्र विकास हो भनी बुझिरहेका छन् । जबकी किसानहरुको पीडामा मलहम लगाउने कोही नेता देखिएका छैनन । वेरोजगार युवाहरुको समस्या उठान गर्ने कोही देखिएका छैनन । आर्थिक रुपमा बैंकको कर्जाले पिसिएका उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्नेतर्फ कोही देखिएका छैनन । यस्तो अवस्थामा जातिय नारा लगाउने र विकास विकासका रट राप्नेलाई कसरी भोट दिने भन्ने प्रश्न समेत उठाईरहेका छन् ।
दैनिक जसो आफ्नो मतदाताहरु माझ उम्मेदवारहरुले विभिन्न बाचाहरु गर्दै सबथोक पुरा हुन्छ, म जितेको अवस्थामा सम्पूर्ण समस्या समाधान हुन यस क्षेत्रलाई नै स्वर्ग बनाई दिन्छु भन्ने जस्तो अश्वासन बाडिरहेका छन् तर त्यसलाई पुरा गर्ने स्रोत कसैले भनेको देखिन्न । अनि यस्तो अवस्थामा कसरी विश्वास गर्ने ? कुन आधारमा विश्वास गर्ने ? २ पटक सांसद रहेका, १ पटक सांसद रहेका, मेयर रहेकाहरुले गरेका काम कसैबाट लुकेको छैन, देखिएको छ । आम सर्वसाधारण मतदाताहरुले बुझ्नु पर्ने के देखिन्छ प्रत्येक वर्ष करोडो–करोड बाटोमा लगानी गर्ने तर १ वर्ष बित्न नपाउँदै पुनः त्यसमा लगानी गर्नुपर्नेलाई भोट दिने ? कि चुनावी मेला चलिरहेको बेला धार्मिक नारा लगाउनेलाई ?
