Monday, April 27सत्यम खबर
Shadow

बाढीग्रस्त क्षेत्रमा क्षति रोक्न तदारूकताका साथ सुरक्षा अधिकारीहरूलाई लाग्न मन्त्रीराईकाे निर्देशन

नेपालगन्ज, २० असाेज – भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आज विहिबार बाँकेको बाढीग्रस्त क्षेत्र पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको छ।

डुडुवा क्षेत्रका कयौं बस्तीहरू डुबानमा परेको खबर पाएपछि मन्त्री राई आज दिउँसो डुडुवाको होलिया क्षेत्रमा अवलोकनका लागि पुग्नुभएको हो। मन्त्री राईले डुडुवा क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिबारे जानकारी लिँदै बाढी र डुबान प्रभावितका लागि आवश्यक चाँजोपाँजो मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।

उहाँले डुडुवा आफ्नो निर्वाचन क्षेत्र पनि भएकाले त्यहाँका प्रभावितहरूको दिनचर्या सहज बनाउन व्यक्तिगत तर्फबाट पनि तत्कालै पहल गर्ने आश्वासन समेत दिनुभएको छ। उहाँले बाढी र डुबान क्षेत्रमा मानवीय र भौतिक क्षति हुन नदिन आफ्ना युनिटहरूलाई तदारूकताका साथ परिचालन गर्न पनि जिल्लास्थित सुरक्षा अधिकारीहरूलाई निर्देशन दिनुभएको छ।

आज विहिबार दुर्गा पूजामा राखिएका मुर्तिहरूको विसर्जन गर्ने दिन पनि हो । हरेक वर्ष सयौं मुर्तिहरू विसर्जनका लागि हजारौं दुर्गाभक्तहरू राप्ती नदीमा पुग्ने गर्छन् । मन्त्री राईले राप्ती नदीमा पानीको सतह बढेकाले मुर्ति विसर्जनमा जानेहरूलाई सजगता अपनाउन आग्रह गर्नुभएको छ। उहाँले जिल्लाका सुरक्षा अधिकारीहरूलाई सुरक्षित तरिकाले मुर्ति विसर्जनको व्यवस्था मिलाउन पनि निर्देशन दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *