
नेपालगन्ज, ७ असोज – नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । विश्व एथ्लेटिक्सको सर्वोच्च निकाय वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश (एम्स)ले नेपालगन्ज म्याराथनलाई मान्यता दिएको हो ।
“हिजो बिहिवार राति मात्र एम्सको पत्र र प्रमाणपत्र प्राप्त भयो ।” नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले भने– “चार वटा विधाको अलगअलग प्रमाणपत्र पाएका छौं ।”

एम्सले पठाएको चार वटा प्रमाणपत्रमा म्याराथन ४२.१९५ किलोमिटर, हाफ म्याराथन २१.०९७ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटर दौडको रुट प्रमाणीकरण भएको हो । एम्सका कोर्ष म्यानेजर आमिर सान्डिवानले भदौ १२ गते सुर्खेतरोड स्थित रुट मापन गरेर रिपोर्ट बुझाएका थिए । वल्र्ड एथ्लेटिक्सका इन्टरनेसनल मेजरमेन्ट एडमिनिस्ट्रेटर डेभ कुन्डीको हस्ताक्षरित प्रमाणपत्र प्राप्त भएको हो ।
नेपालगन्ज उपमहानगरपालिकादेखि सुरु भइ जानकी गाउँपालिकाको केही भुभाग हुँदै कोहलपुर नगरपालिकाको कार्यालय देखि करिब चार किलोमिटर उत्तरतर्फ बानियाभार पुगेर पुनः सोही रुट हुँदै बीपी चोकमा पुगेर सम्पन्न हुनेगर्दछ । आठौं धारा नेपालगन्ज म्याराथन यही मंसिर २४ गते शनिवार हुँदैछ । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो शनिवार हुँदै आएको म्याराथन यसबर्ष आम निर्वाचनका कारण यसपटक मंसिर २४ गते हुने भएको हो ।
क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको म्याराथनका लागि २०७९ असार १५ गते देखि खेलाडी दर्ता खुला गरिएको छ । नेपालगन्ज म्याराथनको वेभसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने आयोजकले जनाएको छ । गतबर्ष झैं यसबर्ष पनि विभिन्न दश वटा विधामा स्पर्धा समावेश गरिएको छ ।
पुरुषतर्फ म्याराथन (४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन (२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन, एक किमी टूाइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ ।
केही विधातर्फ नगद पुरस्कार राशीमा वृद्धि गरिनेछ । केही सरप्राइज प्याकेज पनि घोषणा गरिनेछ । आठौं संस्करणमा कम्तीमा आठ देशका धावकलाई सहभागी गराउने तयारी भइरहेको छ ।
पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सुत्रमा बाँधिएको सदभावको शहर हो । देशको संघीय संरचनामा नेपालगन्ज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख धार्मिक एवं प्राकृतिक पर्यटकीय स्थलको मुख्य प्रवेश द्वार पनि हो । सामाजिक एकताको प्रतीक खेलकुद विधामार्फत शहरको चिनारी कायमै राख्न आठ बर्ष अघि नेपालगन्ज म्याराथनले यात्रा प्रारम्भ गरेको थियो ।
विश्व मानचित्रमा लामो दौड अर्थात म्याराथनको अलग महत्व हुने गर्दछ । यसले स्वस्थ रहन सन्देश दिन्छ, बालकदेखि वृद्धसम्मलाई समेट्छ । साथै ठाउँ बिशेषको पहिचान स्थापित गर्छ, बिभिन्न पेशा एवं व्यवसायका मानिस एकैपटक एक ठाउँमा जमघट गराउँछ । यसले सामाजिक एकताको सन्देश दिन्छ । एक हिसाबले म्याराथन एउटा उत्सव हो । उत्सव साझा हुनुपर्छ । नेपालगन्ज म्याराथन त्यही उद्देश्यबाट प्रेरित छ । त्यसका लागि सबैको सहभागिता, साझेदारी, सहकार्य जरुरी छ । म्याराथनलाई यसपाली अझ भब्य र उत्सवमय बनाउन हामी लागि परेका छौं । विगतका सहयात्रीहरु हामीसँग जोडिरहनु भएको छ ।
यसपाली हामीले अर्को खुशीको कुरा सुनाउन चाहन्छौं । विश्वका शीर्ष म्याराथनको प्रवद्र्धकको कार्य गर्दै आएको वल्र्ड्स म्याराथन्सले सुचिकृत गरी धारा नेपालगन्ज म्याराथनको अन्तर्राष्ट्रिय ब्रान्डिङमा मद्दत गरेको छ । यसले गर्दा यस बर्ष बिभिन्न देशका प्रतिष्ठित धावकहरुको सहभागिता रहने हामीले अपेक्षा गरेका छौं । धारा नेपालगन्ज म्याराथनमा सहभागी हुन चाहने जो सुकैले जहाँबाट पनि अब नेपालगन्ज म्याराथन डट कम (www.nepalgunjmarathon.com) वेभसाइटबाटै आफ्नो नाम दर्ता गर्न सक्ने छन् । सात वटै प्रदेशबाट सहभागी गराउने हाम्रो लक्ष्यमा बेभसाइटले मद्दत गर्ने विश्वास गरेका छौ । बेभसाइटबाट म्याराथनको गतिविधि बारेमा अपटेड हुन पाइनेछ ।
