डुडुवा, २३ भाद्र – डुडुवा–६ को बल्दीपुर्वामा निर्माण भएको नाली चार दिन मै भत्किएको छ । डुडुवा गाउँपालिका वडा न–६ स्थित बल्दीपुर्वामा ठेक्कामार्फत निर्माण भएको नाली बनेको ४ दिन मै भत्किएको छ ।
गाउँपालिकाकाको योजना अनुसार ठेक्का सम्झौतामार्फत उक्त गाउँमा पिपिसि बाटो र नाली निर्माण कार्य भएको जनाइएको छ ।
स्थानीयका अनुसार ४–५ दिनदेखि शुरु भएको निर्माण कार्य सकिन नपाउँदै भत्किएपछि ठेकेदारको काममाथि प्रश्न उठेको छ । कामको गुणस्तरीयता नभएको स्थानीयको आरोप छ । नालीसँगै ढलान गरिएको पिपिसि बाटो समेत फुटेको छ । एकतिर ढलान हुँदै अर्को तिर नाली निर्माण भएको स्थानीय उमेशकुमार यादवले बताउनुभयो ।
हिरमिनिया चौकीदेखि नयाँबस्ती जाने बाटोसंगै जोडिएको बाटोको नाली भत्किएको हो । त्यस्तै निर्माण गरिएको संरचना उचित ढंङ्गले निर्माण नभएको स्थानीय बताउँछन् । मुख्य बाटो गाउँमा भएको घरभन्दा अग्लो छ तर मुख्य बाटोसंग जोडिएको अहिले निर्माण भएको नाला तथा पिपिसि बाटोको निकास मुख्य नालीमा ल्याइएको छ ।
उदाहरणका रुपमा मंगलबर बिहान परेको पानीको निकास नहुँदा स्थानीयको घरमा पानी भरिएको थियो । घरमा पानी भरिएपछि स्टोर गरेर राखिएको गहुँ र भुष भिजेको स्थानीय यादवले जानकारी गराउनुभयो ।
नाली तथा बाटोको बिषयमा वडा सदस्य एव नेपाली काँग्रेसका प्रतिनिधि नेत्रराम मोर्यले भत्किएको स्थानमा पुन ः निर्माण हुने बताउनुभयो । काम गर्ने मानिसहरु आफ्नै घरमा बसेर काम गरिरहेकाले भत्किएको र बिग्रेको स्थानमा पुन ः निर्माण गरिने जानकारी गराउनुभयो ।
त्यस्तै कुनैपनि योजना कार्यान्वयनमा ल्याउँदा सो स्थानमा के ? कति ? कहिलेसम्म ? सम्पन्न हुने भन्ने सूचनासहित बोर्ड राख्नुपर्ने भएपनि निर्माण स्थलमा सूचना बोर्ड नराखिएको स्थानीय बताउँछन् ।
यता सो क्षेत्रका वडाअध्यक्ष मोहनराम मिश्राले योजनाबारे आफुलाई जानकारी नभएको बताउनुभयो । योजना सञ्चालन गर्दा त्यसको लागत बारे सपष्ट रुपमा बुझ्ने गरी निर्माण स्थलमा राख्नु पर्ने भएपनि आफुले समेत त्यस्तो केही नपाएको बताउनुभयो ।
व्यक्तिगत स्वार्थ भएकाले सूचना बोर्ड नराखिएको हुनुपर्ने वडाअध्यक्ष मिश्राको आरोप छ । साथै उहाँले योजना सञ्चालन गराउने डुडुवा गाउँपालिकाले यसतर्फ ध्यान दिई सञ्चालित योजना पारदर्शी बनाउन सक्रिय हुनुपर्ने बताउनुभयो ।