Saturday, April 18सत्यम खबर
Shadow

ठगीको आरोपी रिजवानलाई भगाएको आरोपमा मुस्लिम आयोगको अध्यक्ष मियाँ विरुद्ध प्रदर्शन

काठमाण्डौ, २३ भाद्र –मुस्लिम आयोगका अध्यक्ष समीम मियाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष दुरुपयोग गरेर ठगी मुद्दाका आरोपीलाई भगाएको आरोप लागेको छ ।
मियाँ माथि विमानस्थलको भीआईपी कक्षलाई दुरुपयोग गरेर ठगी गरेको आरोपीलाई भगाएको आरोपमा गत आइतबार आयोगको कार्यालय अगाडि विरोध प्रदर्शन गरिएको थियो ।
अपराध गर्ने व्यक्तिलाई संरक्षण दिने र प्रहरीबाट फुत्काउन प्रपन्च गर्ने पनि अपराधि भएको भन्दै आयोगका अध्यक्ष मियाँको विरोधमा राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेका थिए । प्रदर्शनको नेतृत्व अभियानका संयोजक विनय यादबले गरेको थियो ।
ठगीको आरोप लागेका सुनसरीका ३० वर्षीय रिजवान आलमलाई शुक्रबार विमानस्थलबाट भगाएको आरोप उनी माथि लागेको छ । प्रदर्शनकारीहरुले ‘जेहादी प्रबद्र्धक मुस्लिम आयोग खारेज गर, अपराधी भगाउने समीम मियालाई कारवाही गर, नेपाललाई जेहादी आश्रय केन्द्र बनाउन पाईदैन, इस्लामिक अतिवाद मुर्दावाद, एयरपोर्टको सुरक्षामा खलल पुर्याउने समीम मियालाई कार्यवाही गर’ लगायतका नारा लगाएका थिए ।


रिजवान भीआईपी कक्ष प्रयोग गरेर अध्यक्ष मियाँकै गाडी मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भागेका थिए । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको निमन्त्रणामा नेपाल आएका अरब संसद्का उपाध्यक्ष मोहमद अहमद अल्माही सँगको टोलीमा आलम पनि सहभागी थिए ।
रिजवान मुस्लिम आयोगका अध्यक्ष मियाँको गाडी चढेर विमानस्थलबाट निस्किसके पछि मात्रै प्रहरीले उनको बारेमा जानकारी पाए । त्यसपछि सोही दिन राती ९ बजे प्रहरीले उनलाई होटल मेरियटबाट पक्राउ गरे । तर अध्यक्ष अन्सारीले भने रिजवानको उपस्थिति अनपेक्षित रहेको र भगाउनु पर्ने गरी चिनजान समेत नरहेको दाबी गरेका छन् ।
रिजवानमाथि पाइलट पढाइदिने भन्दै एक करोड रुपैयाँ बढी ठगी गरेको अभियोग छ । दाउद हुसेनले उनीसहित ११ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
हुसेनको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले २७ फागुन २०७८ मा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति मागेको थियो । तर दुबईमा बस्दै आएका आलम नभेटिएपछि प्रहरीले फरार प्रतिवादी बनाएर मुद्दा अघि बढाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *