
काठमाण्डौ, २२ भाद्र –सरकारले संवैधानिक पदको दुरुपयोग गर्दै कुख्यात अपराधी भगाउने र संरक्षण गर्ने मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको राजीनामा माग गरेको छ ।
अन्सारीका गतिविधि शंकास्पद रहेको भन्दै सुरक्षा निकायले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणको ध्यानाकर्षण गराएका छन् । त्यसपछि बालुवाटारले अन्सारीको राजीनामा मागेको बालुवाटार स्रोतले जनाएको छ ।
अन्सारीले हालै अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्ष दुरुपयोग गरेर ठगी मुद्दाका फरार अभियुक्तलाई भगाएका थिए । दुबईबाट नेपाल आएका अभियुक्त सुनसरीका रिजवान आलमलाई शुक्रबार बिहान अन्सारीले योजनाबद्ध रूपमा भगाएपछि नेपालको सुरक्षामै प्रश्न उठेको छ ।

अन्तर्राष्ट्रिय समुदायको मूल्यांकनमा रहेको नेपालको सुरक्षामा प्रश्न उठ्नेगरी अन्सारी कुख्यात अपराधी भगाउने गरी काममा संलग्न भएपछि सरकारले राजीनामा दिन भनेको हो । यसअघि पनि अन्सारीले अपराधसँग जोडिएका थुप्रै मुस्लिम समुदायका व्यक्तिलाइ पदको दुरुपयोग गरेर संरक्षण गर्ने गरेका थिए । अन्सारीको भूमिकामा भारतले पनि सुरक्षामा चुनौती थपिएको भन्दै प्रश्न उठाउने गरेको छ ।
यसरी छिमेकी र अन्तर्राष्ट्रिय समुदायबाटै अन्सारीको शंकास्पद भूमिकामा प्रश्न उठिरहेका बेला सरकारले नेपालको छवि धुमिल हुन नदिन राजीनामा मागेको हो । राजीनामा नदिए प्रक्रिया पुर्याएर हटाउने सरकारको तयारी रहेको मन्त्रीहरु बताउँछन् । अन्सारीमाथि सुरक्षा निकायले पनि छानविन गरिरहेका छन् ।
राजीनामा गरेर छानविनमा सघाउन सरकारले भनेको हो । राजीनामा नदिए छानविनका लागि सरकारले अन्य प्रक्रिया अपनाउने तयारी गरेको छ । नेपाल पाना
