Sunday, April 26सत्यम खबर
Shadow

कोरोनाका नाममा नेपाली व्यापारीलाई दु:ख नदिन चीनलाई नेपालको पत्र

काठमाण्डौ, २२ भाद्र –विगत ३० महिनादेखि नेपालसँगको सीमामा चीनले आंशिक र पूर्ण प्रतिबन्ध लगाउँदै चीनलाई नेपाल सरकारले पत्र पठाएको छ। उद्योग मन्त्रालयले परराष्ट्रमार्फत विगत तीन सातादेखि पूर्णरुपमा ठप्प पारेको नाका खुलाउनका लागि आग्रह गर्दै चिनियाँ दूतावासलाई पत्र पठाएको हो।

सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानमा देखिएको कोरोना प्रकोपले महामारीको रुप लिएपछि चीनले नेपालतर्फका नाकामा अघोषित नाकाबन्दीलाई निरन्तरता दिएको हो। कोरोना महामारी सामान्य बन्दै गए पनि नेपालसँगको सीमा नाका नखोलेपछि नेपाल सरकारले पटक-पटक नाका सहज गरिदिन आग्रह गर्दै आएको थियो। चीनले नाका ठप्प पारेपछि नेपाली व्यापारीले तीज, दसैं र जाडोयामलाई केन्द्रित गरी ल्याएका अर्बौं रकम बराबरका सामान चिनियाँ क्षेत्रमै अड्किएका छन्।

नेपालीले चीनबाट विशेषगरी लुगाकपडा, भाँडाकुँडा, इलेक्ट्रिकल सामान र हाइड्रोका सामान ल्याउने गरेका छन्। चीनबाट स्याउलगायतका फलफूल, लसुनलगायतका खाद्य कुरा पनि ल्याउने गरेको र तीन सातादेखि कुहिएकोले उक्त वस्तुहरु काम नलाग्‍ने बनेका छन्। विगत तीन वर्षदेखि घाटामा रहेका व्यापारीले अहिले कोरोना सहज भएको समयमा ऋण निकालेर दसैंका लागि सामान हालेको तर, चीनले कोरोना महामारीलाई देखाएर नाका पूर्ण रूपमा ठप्प पारेपछि व्यापारीले थप चोट व्यहोर्नु परेको छ।

व्यापारीहरुको आग्रहपछि सरकारले भदौ १३ गते दूतावासलाई पत्र पठाएको हो। पत्रमा नेपाल सरकार सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाउन तयार भएको तर, कोरोनाका नाममा नेपाली व्यापारीहरुलाई समस्यामा नपार्न चीनलाई आग्रह गरिएको छ। उद्योग मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले चीनले भनेका र विश्‍व स्वास्थ्य संगठनले तय गरेका सम्पूर्ण स्वास्थ्य मापदण्डको पालना गरी नेपाली सामान ल्याएर चिनियाँ कन्टेनरलाई पूर्ण स्यानिटाइज गरेर फर्काउने विषयमा पनि छलफल भइरहेको जानकारी दिए।

‘हाम्रो मुख्य ध्यान भनेको नेपाली व्यापारीको सामान अलपत्र पर्न भएन भन्‍ने नै हो,’ उनले थपे, ‘त्यो सामान ल्याउनका लागि नेपाल सरकार सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्न तयार छ। बीच बाटोमा अलपत्र रहेका कन्टेनरहरु नेपाल भूमिका ल्याउन हरसम्भव प्रयास गरिरहेका छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *