Saturday, November 23सत्यम खबर
Shadow

निकुञ्जका वन्यजन्तुको कारण खेतीबारी बाँझै

‘लगाएको बाली भित्र्याउन पाउँदैनौं, राहतका नाममा कनिका छरिन्छ,’ राप्तीसोनारी गाउँपालिका–१, कुसुमका यमबहादुर खड्काले आक्रोश पोख्दै भने, ‘निकुञ्ज भएपछि खुबै सास्ती पाएका छौं ।’ बर्षौंदेखि लगाउँदै आएको अन्नवाली बाँके राष्ट्रिय निकुञ्जबाट आउने जनावरले खाइदिँदा कुसुमका स्थानीयहरु सोचेअनुसार अन्नबाली भित्र्याउन पाउँदैनन् । ‘हामीले लगाएको बाली जंगली जनावरले नष्ट गरिदिन्छ,’ खड्काले भने, ‘हुने खानेलाई त केही फरक नपर्ला, हुँदा खानेहरु भोकभोकै मर्ने अवस्था छ ।’ जंगली जनावरले नष्ट गर्न थालेपछि कुसुमका स्थानीयबासीहरु जमिन बाँझै राख्न बाध्य छन् । ‘सयौं विगाहा खेतीयोग्य जमिन बाँझै राखेका छौं,’ कुसुमकै पदमराज वलीले भने, ‘लगाएर के गर्नु ? फल्न नपाउँदै जंगली जनावरले सखाप पारिदिन्छन् ।’

निकुञ्ज कार्यालयले तारवार नगरिदिँदा खेतीयोग्य जमिन बाँझो भएको उनको भनाई छ । निकुञ्जले तारवार नगर्दा त्यस क्षेत्रका कृषकहरु पीडित हुँदै आएका छन् । निकुञ्जबाट रातमा आउने बँदेल, चित्तल, खरायो, बाँदर, हात्तीजस्ता जनावरले बालीनाली सखाप पार्ने गरेको स्थानीय चुर्णबहादुर कुमालको गुनासो छ । ‘जंगली जनावरका कारण यो सिजनको धानबाली खेतमै सकियो,’ उनले भने, ‘निकुञ्जले क्षतिपूर्ति समेत दिँदैन, के खाएर बाँच्ने ?’बर्षे्िन मेहनत गरेर लगाएको बाली भित्र्याउन नपाउँदै जनावरले खाइदिएपछि किसानहरु खेतीयोग्य जमिन बाँझै राखेर गौचरण बनाउन बाध्य भएको स्थानीय भेषबहादुर खड्काको भनाई छ । ‘जंगली जनावरकै कारण खेतीयोग्य जमिनमा उत्पादन हुँदैन,’ खड्काले भने, ‘निकुञ्जले पनि जिविकोपार्जनका कुनै कार्यक्रम दिँदैन । साँझ विहानको छाक टार्नै मुस्किल भएको छ ।’ बाँकेको रत्न राजमार्गदेखि पश्चिम बर्दिया निकुञ्ज र पूर्वमा बाँके निकुञ्जका जनावरले बर्षेनी खेतीबाली, तरकारीबाली नष्ट गर्दै आएका छन् । ‘पैसा हुनेले खेतबारी क्षेत्रमा तारबार लगाएर जोगाउँदै आए पनि पैसा नहुनेका लागि अन्नवाली जनावरका लागि लगाएको जस्तो भएको छ,’ स्थानीय कमलराज कार्कीले भने । निकुञ्जले वर्षेनी तारवारका लागि थोरै रकम विनियोजन गरे पनि त्यो प्रभावकारी भएको छैन । निकुञ्जले तारवार लगायतका उपाय अपनाउने हो भने कृषकले राहत पाउने स्थानीय लेखराज वलीको भनाई छ । ‘अब त खेती गरेर खाउँला भन्ने आशा पनि मरिसक्यो,’ वलीले भने, ‘निकुञ्जले पूर्णरुपमा तारबार नगरेसम्म समस्याको समाधान हुनेमा आशा पनि छैन । ’
निकुञ्जका कारण विगत बर्षदेखि मध्यवर्ती क्षेत्रका किसानहरुले कृषियोग्य जमिन बाँझै राख्दै आएका छन् । खेतीबाहेक निकुञ्जका जनावरले गोठमै पसेर घरपालुवा जनावर मार्न र खान थालेपछि स्थानीयले पशुपालन पनि गर्न छोडेका छन् । बाँके राष्ट्रिय निकुञ्जले खेतवालीमा जंगली जनावरले क्षति पु¥याए सो वापत अधिकतम रु.१० हजारसम्म दिने गरेको छ । जंगली जनावरले घरपालुवा जनावरलाई पु¥याएको क्षतिको हकमा भने निकुञ्जले अधिकतम रु.३० हजारसम्म दिने गरेको छ । ‘हामीले निकुञ्जका मध्यवर्ती क्षेत्रमा जंगली जनावरबाट भएको क्षतिको विवरण संकलन गरिरहेका छौं । सबै विवरण तयार गरी हामी छिट्टै राहत उपलब्ध गराउँछौं,’ निकुञ्जका प्रमूख संरक्षण अधिकृत दिनबहादुर पुर्जापुनले भने । निकुञ्जका अनुसार गत बर्ष मध्यवर्ती क्षेत्रमा करिब ५० किलोमिटर तारबार गरिएको छ । ‘गत बर्ष रु.१ करोड बजेट आएको थियो, निकुञ्जले २० किलोमिटर र अन्य साझोदार निकायहरुले करिब ३० किलोमिटर तारबार गरेका छौं,’ प्रमूख संरक्षण अधिकृत पुर्जापुनले भने, ‘यस बर्ष भने कम बजेट आएकोले बढी प्रभावित क्षेत्रमा तारबार गर्छौ ।’तारबारका लागि यस बर्ष रु.५० लाख मात्रै बजेट आएको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार प्रभावित क्षेत्रका नागरिकहरुको निविकोपार्जनका लागि वैकल्पिक खेतीका लागि प्रोत्साहन गरिरहेको छ । प्रमूख संरक्षण अधिकृत पुर्जापुनले भने, ‘निकुञ्जले जडिबुटी, तरकारी, मेन्था, केमोमाइल, कागती खेतीजस्ता बाली लगाउन किसानहरुलाई प्रोत्साहन गरिरहेका छौं ।’ यी बाली नलाउँदा जनावरलाई मन नपर्ने र जिविकोपार्जनमा समेत सुधार हुने भएकाले वैकल्पिक खेतीका लागि प्रोत्साहन गरिरहेको उनले बताए । जंगली जनावरबाट घरपालुवा जनावर जोगाउन निकुञ्जले प्रभावित क्षेत्रका पशुपालक किसानहरुलाई सुधारिएको गोठ बनाउनका लागि सहयोगसमेत गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *