Friday, April 24सत्यम खबर
Shadow

ओलीद्वारा मन्त्री महिन्द्रराय यादवको राजीनामा माग

काठमाण्डौ, १९ असार –पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा माग गर्नु भएको छ ।

अध्यक्ष ओलीले अन्य देशमा समयमा किसानलाई मल दिन नसकेपछि कृषिमन्त्रीले राजीनामा दिने गरेको दृष्टान्त उल्लेख गर्दै के हेरेर बसेको भनि कृषिमन्त्री यादवलाई प्रश्न समेत गर्नु भयो ।

उहाँले मलको तत्काल व्यवस्था गर्न बाध्य हुने गरी सरकारविरुद्ध आन्दोलन गर्न पनि पार्टी निकट अखिल नेपाल किसान महासंघलाई कडा निर्देशन दिनु भयो ।

महासंघले शनिबार पाटनको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले किसानले मल नपाइरहेका बेला चुप लागेर बसेको भन्दै महासंघका नेता, कार्यकर्ताप्रति आक्रोशसमेत व्यक्त गर्नु भयो ।

उहाँले किसानसँग सरोकार राख्ने हरेक विषयमा महासंघले सरकारलाई बुझ्ने भाषामा दबाब दिनुपर्नेतर्फ सचेत गराउनु भयो । उहाँले भन्नु भयो, ‘मल पाउँदैन, तपाईँहरु चुप लागेर कानमा तेल हालेर बस्नु हुन्छ । मल ल्याउन बाध्य पार्नु पर्दैन सरकारलाई । दुनियाँमा त मल दिएन भने त कृषिमन्त्रीले त तत्काल राजीनामा दिनुपर्छ, के हेरेर बस्ने ? मन्त्रीले के हेरेर बस्यो ? सरकारले के हेरेर बस्यो ? पिर्कामा सलामी खानका लागि मन्त्री बनाएको हो ? होईन नि ।’

अध्यक्ष ओलीले आफूले सरकार छोडेको एक वर्षमै ४९ अर्ब चामल आयात गरेको भन्दै सरकारप्रति असन्तुष्टि पनि व्यक्त गर्नु भयो । उहाँले कृषि प्रदान देशमा, उर्वर जमिन भएको देशमा एक वर्षमा ठूलो परिणाममा चामल आयात गर्नु अशोभनीय भएको बताउनु भयो । अध्यक्ष ओलीले ६० प्रतिशतभन्दा बढि जनसंख्या कृषिमा आधारित भएको देशमा हामी किन खाद्यान्नमा आत्मनिर्भर हुन नसकेको भनि सरकारलाई प्रश्न समेत गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *