Saturday, April 25सत्यम खबर
Shadow

निजगढ विमानस्थल बनाउन एकमत, ऋण लिंदा श्रीलंका कै बाटाे जाने खतरा

काठमाण्डौ, १९ असार –निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सर्वोच्च अदालतको पूर्ण पाठ सार्वजनिक हुँदा पर्यावरणमा न्यूनतम क्षति हुने गरी मात्र निर्माण गर्न सरकारका नाममा निर्देशन जारी भयो । कहाँ विमानस्थल बनाउने भन्नेबारे कुनै नाम सर्वोच्चको वृहत इजलासले नकिटेपछि सत्तापक्ष र प्रतिपक्षका नेताहरुबीच निजगढमै विमानस्थल बन्नुपर्नेमा एकमत छ ।

आज प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव एकसाथ निजगढ पुगेर विमानस्थल यसअघि भनेकै स्थानमा बनाउने अभिव्यक्ति दिए । मन्त्री समेत रहेका बाराका सांसद उमाकान्त चौधरी निजगढ विमानस्थल निर्माण रोकिननहुने भन्दै ज्ञापनपत्र लिएर दौडिएका थिए ।

प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु निजगढ विमानस्थलको पक्षमा बोल्दै आएका थिए । चुनाव नजिकिदै गर्दा बारा, पर्सा, रौतहट, मकवानपुरलगायत आसपासका जिल्लामा राजनीतिक क्षति पुग्ने भए सत्ता पक्ष र प्रतिपक्षी दुवैलाई थियो । त्यसैले निजगढ विमानस्थलको विषय निकै गिजोलिएको छ ।

निजगढ बनाउन रोकिए अरबौं नोक्शानी हुने नेताहरुको तर्क छ । तर, त्यहाँ २६ लाख रुख काटिंदा राज्यले अहिले खर्च भएको भन्दा ठूलो क्षति व्यहोर्नेछ । यसले वातावरणीय क्षति ठूलै पुग्नेछ । रुख कटानमा पनि ठूलै चलखेल हुँदै आएको छ ।

विमानस्थल बनाउँदा विदेशी ऋण लिने अवस्था आउनेछ । खर्बभन्दा बढी खर्चमा मात्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नसक्छ । देश ऋणको भारले थिचिने अवस्था उत्तिकै छ ।

श्रीलंकामा बन्दरगाह निर्माणमा चीनको ऋण लिंदाको परिणाम देखिइरहेको छ । श्रीलंका अहिले टाट छ । त्यहाँ भौतिक विकास त भयो तर त्यो विकास नै सेतो हात्ती सावित भयो । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसकेको छ । भैरहवामा सेवा सुचारु छ । पोखरामा निकट भविष्यमा हुँदैछ । दुवै विमानस्थल ऋणमा बनाइएको छ । त्यसको भार देशले कहिलेसम्म थेग्ने चासो बनेको छ ।

निजगढ विमानस्थल काठमाडौं विमानस्थलबाट हवाई दूरीका हिसाबले ६० किलोमिटर नजिक छ । यति छोटो दूरीमा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ ।

देशको सुदूर पूर्व र सुदूरपश्चिमी भागमा अन्तर्राष्ट्रिय विमानस्थल छैन । त्यहाँ निर्माणको विकल्प हुँदा हुँदै कम दूरीमै विमानस्थल बनाउने होडवाजी चलेको छ । पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलबीच पनि दूरी धेरै फरक छैन । काठमाडौं र निजगढबीचको दूरी पनि नजिकको छ । यसरी विकास नजिकको क्षेत्रमा गर्ने परिपाठीले योजनाहरु दीर्घकालीन सोचले भन्दा लहड र भोटको राजनीतिले गरिनथालिएको पुष्टि हुन्छ ।

विकासका नाममा प्रकृतिको विनाश गर्ने, कमिशनको हिसाबकिताब गर्ने, भोटबैंकको सोच राख्ने परिपाठी हावी भएको छ । यसको असर निजगढ विमानस्थल निर्माणसम्बन्धी राजनीतिकरणमा प्रष्ट देखिएको छ । अर्कोतर्फ, भूमाफियाहरु निजगढमा पहिल्यै जग्गा खरिद गरेर तयारी अवस्थामा छन् । उनीहरु मोटो रकम मुआब्जा लिने देखि छेउछाउको जग्गाको मूल्य बढेर नाफा निकाल्ने दाउमा छन् । यसबाट पनि राज्यको निर्णयहरु प्रभावित हुने गरेका छन् ।

निजगढ गौरवशाली आयोजना त भनिएको छ यसले देशलाई कंगाल बनाउने अवस्था निर्माण गर्ने खतरा उत्तिकै छ । हाम्रा अगाडि श्रीलंका उदाहरण छँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *