Tuesday, April 21सत्यम खबर
Shadow

अधिकांस स्थानमा नदीजन्य सामाग्रीको अबैध उत्खनन् र घाटगद्दी

राप्ती सोनारी, २२ जेष्ठ – राप्ती सोनारीका अधिकांस स्थानमा नदीजन्य सामाग्रीको अबैध घाटगद्दी रहेको पाइएको छ । नदीजन्य सामाग्री उत्खनन् गरेर मनलाग्दी रुपले घाटगद्दी गरेको अनुगमनका क्रममा फेला पारिएको हो । गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषासिंह थारुसहित वडाअध्यक्ष र कार्यपालिका सदस्य तथा कर्मचारी लगायतको संयुक्त टोलीले अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो ।


उक्त टोलीले बिहीबार राप्ती सोनारीको वडा नम्बर ४, ५ र ६ तथा शुक्रबार वडा नम्बर २, ८ र ९ का विभिन्न घागद्दी तथा क्रसर उद्योगको स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांस स्थानमा नदीजन्य सामाग्री अबैध रुपले उत्खनन र घाटगद्दी गरेको पाइएको हो ।
गाउँपालिका अध्यक्ष पौडेलले प्राविधिकले नापजाँच गर्दा अनुमति भन्दा बढी नदीजन्य सामाग्री फेला पारिएको र अधिकांस स्थानमा अबैध उत्खनन र घाटगद्दी गरेको पाइएको बताए । ‘राजश्व तिरेको रकम थोरै, तर सामाग्री धेरै राखेको देखियो,’ उनले भने । नदीजन्य सामाग्री कारोबारीले नियम विपरित बीच जंगलमा समेत घाटगद्दी गरेको पाइएको छ । ‘हामी कानुनी आधारको पनि अध्ययन गर्छौ, कसरी अनुमति मिलेको रहेछ, कसरी घाटगद्दी गरेको रहेछ, जिल्ला वन कार्यालयसँग पनि समन्वय गर्छौ, बीच जंगलमा घाटगद्दी गरिनु शंकास्पद छ,’ उनले थपे ।


राप्ती सोनारी २ का वडाअध्यक्ष एवम् कार्यपालिका सदस्य ज्ञानेन्द्रराज ओलीले दुई दिनदेखी अनुगमनमा सबै जनासंगै हिड्दा र प्राविधिकले नापजाँच गर्दा नदीजन्य सामाग्रीबारे धेरै तथ्य फेला पारिएको बताए । ‘पहिलाको घाटगद्दी कति थियो, अहिलेको निकाल्दाखेरी फरक आइरहेको छ, हामीले कार्यपालिका बैठक बसेर यस विषयमा केही न केही रुपले नदीजन्य विषयलाई ब्यवस्थापन गर्छौ,’ उनले भने । गाउँपालिकाको सिंगो कार्यपालिका टोली दुई दिनदेखी त्यतिकै नहिडेकाले परिवर्तन ल्याउने वडाअध्यक्ष ओलीले जिकिर गरे ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले संयुक्त रुपमा अनुगमन गर्न हिड्दा आफुहरुलाई असाध्यै सन्तुष्टी महसुस भएको बताए । ‘जुन लक्ष्यका साथ आगामी वर्षको योजना बनाउने तयारीमा हामी छौं, त्यसका लागि आन्तरिक आम्दानी कति छ र खर्च कति छ भन्ने आय÷ब्ययको अनुमान गर्नुपर्ने हुन्छ,’ उनले भने ‘हामीले करिव ७० वटा घाटगद्दी नापजाँच गरेका छौं, एउटै घाटगघीबाट हामीलाई डेढदेखी दुई करोड राजश्व आउने अनुमान प्रक्षेपन गरेका छौं, सानो घाटगद्दीबाट पनि ४÷५ लाख आउने अनुमान गरेका छौं ।’
गाउँपालिकाले विगत दुई वर्षदेखी राप्ती सोनारीका नदी खोलामा ठेक्का लगाउन सकेको छैन । दुई वर्षदेखी अबैध रुपमा चलेका क्रसर उद्योगको नियमन र अबैध उत्खनन तथा घाटगद्दी रोक्न गाउँपालिकाले प्रयास गर्दा राप्ती सोनारीबासीले यतिबेला जनप्रतिनिधीको खुलेरै प्रशंसा गरिरहेका छन् । सामाजिक सञ्जालमार्फत उनीहरुले प्रशंसा गरेका हुन् ।


गाउँपालिका अध्यक्ष पौडेल राप्ती सोनारीको नदीजन्य सामाग्री ब्यवस्थापन गर्नमा सबैको साथ र सहयोग रहने अपेक्षामा छन् । ‘जसले हाम्रो समृद्धि बोकेको छ, जसले हाम्रो विकास बोकेको छ, यसको बैज्ञानिक ब्यवस्थापन गर्नुपर्दछ भन्ने कुरामा हामीले हर राप्ती सोनारी बासीलाई बुझाएका छौं, राप्तीसोनारी बासीले सबैमाथी शंका गरेका छन्,’ पौडेलले भने ‘त्यसकारण हामी नेतृत्व गर्ने, विगतको नेतृत्व र यो सँग सरोकार राख्ने सबैलाई शंका गरेका छन्, यो शंकाको दायरामा हामीले पारदर्शी भुमिका निर्वाह गर्न सक्यौै, सही ब्यवस्थापन र सही नियमनको दायरामा ल्याउन सक्यौं भने सबैको सहभागिता छ, उत्साहपूर्ण सहयोग रहनेछ ।’ अनुगमनका क्रममा नदीजन्य सामाग्री उत्खनन्बारे जनतामा निराशाजनक अवस्था देखिएको अध्यक्ष पौडेलले सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *