
नेपालगन्ज, २२ जेष्ठ – बाँकेको नेपालगन्जमा रहेको लोकतान्त्रिक सहिद सेतु बिकको सालिक तोडफोड र रोल्पा कारागारमा मृत्यु भएको सुन्दर हरिजनको मृत्यु प्रकरणमा राष्ट्रिय दलित मुक्ति जागरण अभियानले चासो देखाएको छ ।

जागरण अभियानले दुबै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको गर्न माग सम्बन्धित निकायसँग गरेको हो । माग पुरा नभए देशभर आन्दोलन गर्ने जागरण अभियानको चेतावनी छ ।
अभियानका पूर्वी इन्चार्ज राजेश विद्रोही र पश्चिम इन्चार्ज खगेन्द्र सुनारले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर सुन्दर हरिजनको हत्या घटना सेलाउन नपाउँदै २१ गते १७ औं जातीय विभेद तथा छुवाछूत राष्ट्रिय दिवसको मुखमा आएर १९ गते बिहिवार बाँकेको नेपालगन्जमा जातीवादी मण्डललेहरुले लोकतान्त्रिक सहिद सेतु बिकको सालिक तोडफोड गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।
‘राजावादीहरुले स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने क्रममा प्रहरीसँग भएको झडपलाई आक्रोशको रुपमा दलित महिला सालिकमाथि आक्रमण गर्नु खेदजनक छ’, विज्ञप्तीमा भनिएको छ, ‘यो घटनालाई जति भत्सर्ना गरेपनि कमै हुन्छ । यसर्थ सुन्दर हरिजन घटना र सहिद सेतु बिकको सालिक तोडफोड घटनालाई सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कार्वाही होस् ।’
