
नेपालगन्ज, १९ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले दरबार हत्याकाण्डको दिन पारेर नेपालगन्जमा बिहिवार भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
नगर प्रमुख विष्टले घटना लगत्तै धम्बोझी चोक र शहीद सेतु विक चोक पुगेर घटनाबारे स्थलगत जानकारी लिनु भएको छ । उहाँले शहीद सेतु विकको शालिकमा तोडफोड गर्ने कार्यको निन्दा गर्नु भएको छ । वीरेन्द्र चौकमा शालिक राख्ने र हटाउने विषयमा बारम्बार विवाद हुने गरेकाले त्यसको स्थायी समाधानका लागि सम्वद्ध सबै पक्षसँग संवाद गरेर अघि बढ्ने नगर प्रमुख विष्टले प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।
स्व. राजा वीरेन्द्रको शालिक राख्ने क्रममा भएको झड्पमा परि घाइते भएका प्रदर्शनकारी र सुरक्षाकर्मीको नगर प्रमुख विष्टले शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।
