
जानकी, २७ बैशाख – जानकी गाउँपालिकाका उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई विट मार्नु अघि आज बिहानैदेखि आ–आफ्नो शक्ति प्रदर्शनमा लागेका छन् । कसैले मतदाता माझ मत मागेर त कसैले कार, मोटरसाईकलबाट जानकी गाउँपालिका परिक्रमा गरेर ।
प्रचारप्रसारका लागि आज अन्तिम दिन हो । राती १२ बजेदेखि मौन अवधि शुरु हुने भएकोले त्यसपछि प्रचारप्रसार गर्न नपाइने निर्वाचन कार्यालयद्वारा जारी आचारसंहितमा यस अगावै जानकारी गराई सकिएको छ ।

जानकी गाउँपालिका प्रमुख पदका उम्मेदवार हिमान्सु यादवले यस अघि पालिका भित्र सम्पन्न विभिन्न कार्यक्रमहरुका बीच, जानकीका मतदाताहरु बिच आफू विजयी भए जानकीको ६ वटै वार्डमा एम्बुलेन्स सेवा, स्वास्थ्य चौकीहरुलाई अपग्रेड गरिने, निःशुल्क शिक्षा उपलब्ध गराउनुका साथै छात्राहरुलाई थप सेवासुविधा प्रदान गर्ने, कृषकहरुलाई सिंचाईको व्यवस्था गर्ने, कृषकहरुलाई कृषिमा अनुदान उपलब्ध गराउने, फुसको छाना भएको घरलाई स्तर उन्नति गर्ने, गाउँपालिका भित्र कुनै पनि फुसको छाना नराखी स्तर उन्नति गर्नेलगायतका सेवा सुविधा जानकी गाउँपालिकाबासीहरुको लागि उपलब्ध गराउने बारे सार्वजनिक प्रतिबद्धता जाहेर गरिसकेका छन् ।
हिमान्सु यादवले आफू विजयी भए घरबाट पाईने सम्पूर्ण तलब भत्ता समेत पालिका भित्र रहेका गरिब, दुःखीहरुको सेवामा खर्चिने बताई सक्नु भएको छ ।
जानकी गाउँपालिकाका सबै वडामा एम्बुलेन्स सेवा प्रदान गरिएको अध्यक्षका उम्मेदवार हिमान्सु यादवले बताउनुभएको छ ।
अध्यक्ष पदका उम्मेद्वार यादवले गाउँपालिकाका सबै नागरिकलाई सहज हुने स्थानमा ५० सैयाको सुविधा सम्पन्न अस्पताल ५ बर्ष भित्रमा निर्माण गरिने यसअघि बताउनु भएको थियो । गाउँपालिका भित्र रहेका सबै सुगर, प्रेशर, आँखा, दाद, पाठेघरका विरामीलाई निशूल्क स्वास्थ्य सेवा घर मै प्रदान गरिने समेत यादवले आफ्नो प्रतिबद्धतामा जनाउनु भएको छ ।
पालिका सवै नागरिकको स्वास्थ्य विमा गरिने छ र घर घरमै स्वास्थ्य विमा कार्यक्रम लागु गरिने, दुव्र्यसन मुक्त पालिका बनाउनको लागि अभियान चलाईने, मृगौला पिडितको लागि नियमित डायलासिस गर्नुपर्ने विरामीको लागि रु १ लाखसम्म आर्थिक सहयोग प्रदान गरिने, बालवालिकाको मुटुको भल्वको उपचारका लागि रु १ लाखसम्मको आर्थिक सहयोग प्रदान गरिने अध्यक्ष पदका उम्मेदवार हिमान्सु यादवको प्रतिबद्धता भित्र रहेको पाईन्छ ।
गाउँपालिकाका ८० बर्ष माथि पुगेका जेष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै आकस्मिक विरामी बाहेक अनिवार्य रुपमा ३ महिनामा एक पटक घर मै स्वास्थ्य सेवा प्रदान गरिने अध्यक्ष पदका उम्मेदवार हिमान्सु यादवले प्रतिबद्धता जनाउनु भएको छ ।
आज जानकी गाउँपालिकाको विभिन्न गाउँमा शक्ति प्रदर्शन गर्ने क्रममा समेत सत्यमखबरको टीमलाई उक्त प्रतिबद्धता आफू विजयी भए पहिलो प्राथमिकता साथ पुरा गर्ने बताउनुभयो ।
