
जानकी, बैशाख २७ – नेपाली काँग्रेसका तर्फबाट जानकी गाउँपालिकाका उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई विट मार्नु अघि आज विहानैदेखि मतदाताहरुलाई भेटिरहेका छन् । प्रचारप्रसारका लागि आज अन्तिम दिन हो । राती १२ बजेदेखि मौन अवधि शुरु हुने भएकाले त्यसपछि प्रचारप्रसार गर्न पाइने छैन ।
अध्यक्षका उम्मेदवार छब्बन खाँ र उपाध्यक्षकी उम्मेदवार रामप्यारी यादवले विभिन्न वडाका गाउँ र टोलहरुमा पुगेर नेपाली काँग्रेसलाई जिताउन आग्रह गरेका छन् । जनताको साथ, समर्थन र माया पाएर उच्च मनोबलका साथ चुनावी मैदानमा होमिएका खाँ र यादवले जानकीमा फेरि एमालेलाई जिताएर गल्ती नदोहोर्याउन सचेत बनाएका छन् ।

“यसअघि झिनो मतले काँग्रेसले पराजय व्यहोर्दा जानकी पछि परेको छ, काँग्रेसलाई जिताउन अब हामी कम्मर कसेर लाग्छौं भनेर मतदाताहरुले हामीलाई भन्नु भएको छ, “अध्यक्षका उम्मेदवार खाँले भने–“जानकीमा हामी जित्दैछौं, अब जानकीलाई उठाउने काँग्रेसले हो ।”
उपाध्यक्षकी उम्मेदवार यादवले आफूहरु जनताको सेवा गर्ने उद्देश्यले जनप्रतिनिधि भएर काम गर्न खोजेकाले जानकीबासीले आफूहरुलाई अनुमोदन गर्ने विश्वास व्यक्त गरिन् । “हामीलाई पाँच बर्ष सेवक बन्ने अवसर दिनुस्, हामी जानकीलाई बदलेर देखाइदिन्छौं,” यादवले भनिन् ।
