Wednesday, May 6सत्यम खबर
Shadow

“ठूला पार्टी र नेतालाई सुधार्न भोट राप्रपालाई दिनुस“: अध्यक्ष राजेन्द्र लिङ्देन

नेपालगन्ज, २४ बैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले यत्रो वर्षसम्म शासन गर्दा पनि ठूला पार्टीले देश विकास गर्न नसकेकाले अब उनीहरुलाई दण्डित गर्नुपर्ने बताएका छन् ।
राप्रपाले नेपालगन्जमा आयोजना गरेको चुनावी सभामा बोल्दै अध्यक्ष लिङ्देनले भोट नदिएर ठूला पार्टी र नेतालाई दण्डित गर्न आग्रह गरे । ‘ठूला पार्टी र नेतालाई सुधार्न उनीहरुलाई हराउनु पर्छ । त्यसका लागि राप्रपामा भोट हाल्नुस्, उनीहरुको बाकस रित्तो बनाउनुस्,’ अध्यक्ष लिङ्देनले भने, ‘हारेपछि कि त सुध्रिन्छन् या त राजनीतिक मैदान छोडेर जान्छन् ।’


अध्यक्ष लिङ्देनले गठबन्धनले जितेमा देश लडाइँ झगडामा फस्ने चेतावनी दिए । ‘स्वार्थका लागि गठबन्धन गरिएको छ । जितिहालेमा कसको एजेन्डा लागु गर्छन् ?,’ अध्यक्ष लिङ्देनले भने, ‘गठबन्धनले जितेमा लडाइँ झगडा हुन्छ । विकास हुँदैन ।’


राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले गलत मान्छेलाई मत दिएर नेपालगन्जको मेयर नबनाउन आग्रह गरे । उनले नेपालगन्जलाई गुण्डाको अखडा बन्न नदिन अनुरोध गरे ।
‘गलत मान्छेलाई भोट दिएर मेयर बनाउनुभयो भने पाँच वर्षसम्म पछुताउनुबाहेक केही गर्न सकिँदैन, नेपालगञ्जवासीले सबैलाई राम्ररी चिनेका छन्, सोच विचार गरेर भोट दिनुस्,’ डा. राणाले भने ।


राप्रपाबाट नेपालगन्जका मेयर उम्मेदवार नन्दलाल वैश्यले आफू शासन गर्न नभइ सेवा गर्नका लागि मेयर हुन खोजेको बताए । उनले आफूले मेयर जितेमा भ्रष्टाचार नगर्ने उद्घोष गरे। ‘आमाको कसम खान्छु । मैले जितेँ भने भ्रष्टाचार गर्दिनँ,’ वैश्यले भने ।
राप्रपा उम्मेदवार वैश्यले नेपालगन्जलाई कर्णालीमा मिसाउन चाहेको बताए । उपमेयरका उम्मेदवार बिन्दु चर्तिमगरले नगरमा सेवा गर्ने अवसर दिन आग्रह गरिन् । त्रिभुवनचोकमा चुनावी सभा हुनुअघि राप्रपाले अध्यक्ष लिङ्देनसहित नगरमा मोटरसाइकल ¥याली निकालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *