
नेपालगन्ज, २३ वैशाख – नेपालगन्ज नगरमा गएको स्थानीय निर्वाचनमा राप्रपाका डा. धवल समशेर राणाले मेयर जितेका थिए । स्थानीय चुनावमा नजिकिँदै गर्दा राप्रपाले नेपालगन्जमा कस्तो नतिजा ल्याउँछ भन्ने धेरैले नजिकबाट नियाली रहेका छन् । चर्चित मेयरको छबी बनाएका धवलको बिरासतलाई कसले जोगाउँला भन्ने राप्रपामा बहसको विषय बनेको थियो । त्यस्तैमा बिन्दु चर्तीमगर धवलको बिरासत जोगाउने पथमा देखिएकी नेतृत्व हुन् ।
नेपालगन्जको लागि बिन्दु चर्ती मगर नौलो नाम होइन । धेरै महिला उद्यमीहरुले उद्यमी बिन्दुको नामले चिन्छन्, त कतिले बिन्दुलाई पुष्प व्यवसायीको नामले चिन्ने गर्छन् ।
त्यस्तै नेपालगन्जका विभिन्न संघ–संस्थामा सक्रिय रहेका ठूलो जमातले बिन्दुलाई समाजसेवीको रुपमा पनि चिन्ने गर्छन् । अनेक संघ–संस्थासँग आवद्ध रहेर लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएकी चर्तीमगरलाई चिन्ने अनेकन उपनामहरु छन् । पुष्प व्यवसायी चर्ती मगर महिला उद्यमीहरुको लागि एक प्रेरणाको स्रोत हुन् भने दिनदुखीको लागि अभिभावक पनि ।
व्यवसायसँगै समाजसेवा र राजनीतिमा पनि उत्तिकै सक्रिय चर्तीमगर आसन्न वैशाख ३० गते हुने नेपालगन्ज उप–महानगरपालिकाको निर्वाचनमा राप्रपाबाट उपमेयर पदमा प्रत्यासिको रुपमा उभिएकी छिन् ।
राप्रपा कै डा.धवल समशेर राणाले २०७४ को स्थानीय निर्वाचनमा जित हासिल गरेको स्थानीय तह भएकाले पनि राप्रपालाई गतिलो उम्मेदवार दिनुपर्ने चर्को दबाबका बिच राप्रपाले बिन्दुलाई नेपालगन्जको भाबी उपमेयरको रुपमा प्रस्तुत गरेको छ । जसलाई स्थानीय समेतले स्वीकार्दै गरेको पाइन्छ ।
नेपालगन्जको लागि बिन्दु चर्ती मगर आफंैमा उपमेयरको ‘फाइटिङ क्यान्डिडेट’ हुन्, त्यसैमा नेपालगन्जका मेयर डा.धवल समशेर राणाको बिरासत जोगाउन राणा जस्तै स्वच्छ छवि भएको उम्मेदवारको आवश्यकता बिन्दुले पूरा गरेको धेरैको बुझाइ छ ।
राप्रपाको ईलाका सचिवबाट राजनैतिक यात्रामा प्रवेश गरेकी चर्ती मगर नेपालगन्ज नगरमा जहाँ–जहाँ चुनावी अभियान लिएर भोट माग्दै जान्छिन्, त्यहाका नगरबासीको अथाह माया र आशिर्वाद पाएकी छिन् ।
व्यवसायमा नयाँ आउने महिला उद्यमीदेखि लिएर केही गर्ने जोश र भिजन लिएर व्यवसायमा छिर्ने महिला दिदिबहिनीको लागि प्रेरणा बन्दै स्वरोजगार बन्न प्रेरित गर्ने चर्तीमगर सबैको ‘बिन्दु दिदी’ बन्ने गरेकै कारण उनको चुनावी माहोल विपक्षी भन्दा धेरै अगाडि रहेको नगरबासीको बुझाइ छ ।
चर्तीमगरले बाँकेमा पहिलोपटक १० जनालाई पुष्प तालिम दिएर उद्यमी बनाएकी छिन् । उनी बाँकेमा सबैभन्दा बढी पुष्प उत्पादक हुन भने उनको चर्ती फ्लोरा बाँकेको पहिलो र एकमात्र पुष्प बिक्री केन्द्र हो । त्यस्तै बाँकेमा पहिलो चाउमिन उद्योग पनि उनकै परिवारले सुरु गरेका थिए भने आज सो उद्योगको नेतृत्व चर्ती आफैले गर्छिन् ।
राजनीतिज्ञ भन्दा समाजसेवीको रुपमा परिचय बोकेको कारण पनि नगरबासी चर्तीमगरलाई जित स्वीकारयोग्य रहेको बताउँछन् । पद र प्रतिष्ठा भन्दा सेवामा धेरै विश्वास गर्ने बिन्दु नेपालगन्ज उप–महानगरपालिकाको उपमेयर भएको खण्डमा नगरबासीको लागि उनले गर्नसक्ने कामहरुलाई मध्यनजर गर्दै चर्तीलाई उपमेयरमा जितेको देख्ने सपना रहेको नेपालगन्जवासीको बुझाइछ ।
नेपालगन्जलाई ‘ग्रीन एण्ड क्लिन’ शहर बनाउने सपना लिएकी चर्तीमगरले अति बिपन्न परिवार तथा महिलालाई आत्मनिर्भर कसरी बनाउन सकिन्छ भनेर लाग्ने योजना रहेको बताउँछिन् । उसो त चर्तीमगरले व्यवसायिक जिवनमै धेरै महिलालाई उद्यमी बन्न प्रेरित गरेको र उद्यमी बनाउन विभिन्न तालिमको आयोजना गरेर सफल बनाएका उदाहरणहरुको कमी छैन ।
स्थानीय तह निर्वाचन लक्षित चुनावी अभियान र घरदैलो कार्यक्रममा मतदाता रिझाउन उम्मेदवारहरु लागि परिरहेको अवस्थामा मध्य तथा सुदूरपश्चिमको केन्द्र मानिने नेपालगन्जमा राप्रपाबाट मेयर र उपमेयरमा क्रमश नन्दलाल वैश्य र बिन्दु चर्ती मगर चुनावी अभियानमा होमिएका छन् ।