Sunday, April 26सत्यम खबर
Shadow

बाटो र नाला बनाउन कति समय लाग्छ ?

नेपालगन्ज, ११ भाद्र – नेपालगन्ज उपमहानगरपालिका भित्र विकासको नाममा गरिएको असारे विकासले गर्दा आम सर्वसाधारणहरुलाई सास्ती मात्र नभई आर्थिक नोक्सान समेत भईरहेको गुनासो वडा नं. २ घरवारी टोलीका व्यापारीहरुले गरेका छन् ।

विहिबार बिहान ११ः४० बजे दुर्घटना ग्रस्त ब्याट्री रिक्सा । तस्वीरः सत्यम खबर


विगत १ वर्षदेखि न्यूरोड पश्चिमदेखि स्टार लजसम्मको बाटो फराकिलो बनाउने भनेर कार्य जारी गरिएको थियो । तर सो कार्य वडाअध्यक्षको लापरवाहीले गर्दा अधुरो अवस्थामा छोडेर ठेकेदार नै भाग्यो कि ? भन्ने गुनासो समेत उक्त स्थानमा रहेका टिभि मर्मत गर्ने मिस्त्रीहरुले गरेका छन् ।
सोमबार परेको अविरल पानीको जमालले गर्दा खनिएको नालामा दुर्घटना ग्रस्त भएको महेन्द्र गाडी त एउटा उदाहरण मात्र थियो । आज विहिबार ब्याट्री रिक्सामा सामान लोड गरि ल्याउँदै गर्दा पुनः दुर्गा इलेक्ट्रोनिक्स पसल अगाडी दुर्घटना ग्रस्त भई आर्थिक नोक्सानी हुन गएको छ ।
नेपालगन्ज भित्र प्राय बाटो फराकिलो गर्ने स्थानमा स्थानीयहरुको सहमति बिना नै कार्य जारी गर्ने प्रवृति भनौ वा सम्बन्धित जनप्रतिनिधिहरुको चरम लापरवाही भनौ, यसमा आर्थिक नोक्सान व्यहोर्ने आम निमुखा गरिखाने वर्गका गरिब जनता बाहेक कसैलाई हुँदैन, यसको जिम्मेवारी र भएको नोक्सानीको भरपाई कस्ले गर्ने भनी दुर्घटना ग्रस्त क्षेत्रका एक व्यापारीले प्रश्न गरे ।

सोमबार रात्री महेन्द्र गाडी दुर्घटना ग्रस्त भएको स्थान, सिधा देखिएको सटर अगाडी जहाँ नाला खनियो तर बनाइएन । तस्वीरः सत्यम खबर


यस क्षेत्रमा वाणिज्य कार्यालय, एन्जल्स बोर्डिक स्कूल, वडा नं. २ को वडा कार्यालय, मुद्रण व्यवसाय गर्ने १ दर्जन मुद्रण व्यवसायी लगायत महत्वपूर्ण कार्यालयदेखि व्यवसायीहरु रहेका छन् ।
करीब ४–५ सय मिटर बाटो र नाला बनाउन कति समय लाग्छ ? बाटो समयमा नबन्दा, कोभिड–१९ को मार, बन्दा–बन्दीको मारबाट पीडित व्यापारीको पीडा कसले बुझ्ने ? र भएको नोक्सानीलाई के उपमहानगरपालिकाले व्यहोर्ने हो त ? विकास प्रेमी उपमहानगर प्रमुख र वडाअध्यक्षलाई व्यवसायीहरुको प्रश्न रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *