नेपालगन्ज, ११ भाद्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ निवासी ७० वर्षीय महिलाको विहिबार मृत्यु भएको छ ।
जन स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठद्वारा जारी प्रेस नोटका अनुसार कोरोना संक्रमणका कारण बिहिबार बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का ७० बर्षिया महिलाको मृत्यु भएको छ ।
मृतक महिला भदौ ३ गते छातिको समस्या भई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएकी थिइन् । कोरोनाको आशंकामा स्वाब संकलन गरी परिक्षणका लागि पठाइएकोमा भदौ ५ गते आएको नतिजामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भदौ ६ गते नेपालगन्जबाट नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भेन्टिलेटरसहितको थप उपचारका लागि लगिएको र उपचार कै क्रममा बिहिवार बिहान ११ः३० बजे उनको मृत्यु भएको जन स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठद्वारा जारी गरिएको प्रेस नोटमा उल्लेख गरिएको छ ।
मृतकको दुबै फोक्सोमा निमोनियाको समस्या देखिएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले जनाएको छ ।
योसहित बाँकेमा कोरोनाबाट ३ महिला सहित ६ जनाको मृत्यु भईसकेको छ ।