
नेपालगन्ज, २ बैशाख – मधेश मिडिया मिसन नेपाल बाँकेले भोलि शनिबार आयोजित गरेको ६५ औं अवधी पत्रकारिता स्थापना दिवसको प्रमुख अतिथि बाँकेका प्रसिद्ध उद्योगपति तथा समाजसेवी प्रदीपकुमार छाजेड रहने निर्णय गरिएको छ ।

मिसनको यो कार्यक्रम जिल्ला समन्वय समिति बाँकेको सभाहलमा दिउँसो २ बजेदेखि शुरु हुनेछ । यस कार्यक्रममा अवधी भाषी अग्रज पत्रकारहरु स्व. प० योगेश्वरप्रसाद मिश्र, स्व. राधेश्याम शर्मा, स्व. पन्नालाल गुप्त ‘चाचाजी’ र स्व. रामगोपाल वैश्यको मरणोपरान्त कदर सम्मान गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रम बीच प्रमुख अतिथि छाजेड नेपालगन्ज घोषणा पत्र–२०७९ समेत जारी गर्नु हुनेछ । यो सम्मान पत्र ग्रहण गर्न स्व. पत्रकार प्रेस स्वतन्त्रता सेनानीकी श्रीमति शिवदेवी वैश्य, स्व. पत्रकार राधेश्याम शर्माजीको जेठो छोरा कुन्तलराज शर्मा, स्व. पत्रकार प० योगेश्वरप्रसाद मिश्रको बुहारी र स्व. पत्रकार प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचाजी’को जेठो छोरा विजयकुमार गुप्ताले ग्रहण गर्नु हुने कुरा मिसनका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले जानकारी गराउनु भएको छ ।
पहिले यो कार्यक्रम बिहान ११ बजेदेखि शुरु गर्ने तयारी रहेको थियो तर हिन्दुहरुको आराध्य देव रामभक्त श्री हनुमान जीको जन्मोत्सव र शिख समुदायको खालसा धर्म स्थापना ‘साजना दिवस’ बैशाखी पर्व यसै दिन परेकोले कुनै कार्यक्रम फिक्का नबनोस यो कुरा मध्येनजर राखी मिसनले दिउँसो २ बजेदेखि उक्त कार्यक्रम आयोजित गर्ने तयारी गरेको छ ।
यस कार्यक्रममा सहभागी हुन मिसन नेपालले भारतको प्रख्यात हिन्दी न्यूज च्यानल जी न्यूजलगायत त्यहाँका दर्जनौ वरिष्ठ पत्रकारहरुलाई निम्तो दिईनुका साथै नेपालगन्जका वरिष्ठ पत्रकारहरुलाई निम्तो दिईसकेको जानकारी गराईएको छ ।
