Friday, May 1सत्यम खबर
Shadow

नाटाको ४२ औं केन्द्रीय अधिवेशन भव्यताका साथ सम्पन्न

नेपालगन्ज, १२ चैत्र – नेपाल क्षयरोग निवारण संस्थाको ४२ औं केन्द्रीय सभाको अधिवेशन आज नेपालगन्जमा सम्पन्न भएको छ । संस्थाको बाँके शाखाको आतिथ्यमा सम्पन्न उक्त केन्द्रीय अधिवेशनमा ३५ जिल्लाका संस्थाका प्रतिनिधि, नेपाली तथा भारतीय सञ्चारकर्मीहरु, सामाजिक कार्यकर्ताहरु तथा क्षयरोग विरुद्धका अभियन्ताहरु समेत १७९ जनाको सहभागिता रहेको थियो ।

लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजीत थारुको प्रमुख आतिथ्यमा सम्पन्न भएको केन्द्रीय सभाको अधिवेशनको अध्यक्षता नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष मदन काजी श्रेष्ठले गर्नु भएको थियो । अधिवेशनमा संस्थाका केन्द्रीय अध्यक्ष श्रेष्ठले क्षयरोग विरुद्धको अभियानमा केन्द्रीय कार्यालय र विभिन्न जिल्ला शाखाका प्रतिकारात्मक तथा उपचारात्मक सेवाहरुको बारेमा प्रकाश पार्नु भएको थियो ।

नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रिय सदस्य तथा अधिवेशन आयोजक समितिका संयोजक सेमराज शाक्यले अधिवेशनका लागि सहयोग गर्ने दाताहरुको नामावली प्रस्तुत गर्नु भयो । बाँके शाखाका पूर्व अध्यक्ष पूर्णलाल चुकेले सहजीकरण गरेको उक्त अधिवेशनमा लायन्स क्लव इन्टरनेशनल बि.टू. का पूर्व गभर्नर मधुसुदन शर्मा रिजाल, डामियन फाउण्डेशनका कन्ट्री डाइरेक्टर डा. सुशील कोइराला, नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवद्र्ध सम्झना, बाँके शाखाका सभापति बदरुद्दीन अन्सारी लगायतले बोल्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश स्वास्थ्य मन्त्री इन्द्रजीत थारु संस्थाद्वारा प्रदान गरिने ओत्सुका पुरस्कार विभिन् जिल्ला शाखा र स्वयम्सेवीहरु तथा प्रोत्साहन पुरस्कार कर्मचारीहरुलाई प्रदान गर्नु भएको थियो ।

त्यसैगरि संस्थाका केन्द्रीय अध्यक्ष श्रेष्ठ तथा उपाध्यक्ष वेद प्रसाद कोजूले बाँके जिल्ला शाखाको भवन निर्माण र अधिवेशनका लागि सहयोग गर्ने दाताहरुलाई प्रशंसा पत्र तथा संस्थाका आजीवन सदस्यहरुलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

उक्त अधिवेशनको बन्द सत्रमा उपाध्यक्ष वेद प्रसाद कोजूले प्रस्तुत गर्नु भएको संस्थाको समयानुकुल तथा संघीय संरचना अनुरुपको संशोधित विधान पारित गरिएको थियो । महासचिव राजन श्रेष्ठले संस्थाको सांगठनिक प्रतिवेदन र उपमहासचिव राधा देवी श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *