
नेपालगन्ज, ९ भाद्र – भेरी अस्पताल नेपालगन्जका कन्सल्टेन्ट फिजिसियन तथा मेडिकल बिभाग प्रमुख डा. राजन पाण्डेलाई पनि कोरोना भाइरस संक्रमण देखिएको छ ।
डा. संकेत रिसाललाई हिजो नै कोरोना पुष्टि भएको थियो ।


भेरीका यी दुई जना डाक्टर प्रत्यक्ष उपचारमा संकलन हुनुहुन्थ्यो । यता, नेपालगन्ज मेडिकल कलेजका आधा अर्जन डाक्टरलाई कोरोना लागि सकेको छ ।
ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि उहाँले सोमबार स्वाब दिनु भएको थियो । भेरी अस्पतालमा गरिएको पीसीआर परिक्षणमा आज मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको हो । ज्वरो र रुघाखोकीको लक्षण देखिएको थियो ।
डा. पाण्डे कोरोना भाइरस संक्रमितको उपचारमा अग्रस्थानमा रहेर खटिनु भएको थियो । आफुलाई जोखिम मै राखेर भएपनि डा. पाण्डेले बिरामीलाई उच्च मनोबलका लागि प्रेरित गर्दै आउनु भएको थियो ।
डा. पाण्डेले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘कोभिड–१९ को बिरामीहरुको उपचारमा रहँदा म पनि यसबाट अछुतो रहन सकिन । मसँग एक हप्ताभित्र सम्पर्कमा आउनु हुने सम्पूर्ण व्यक्तिहरुले कोभिड–१९ जाँच गर्नु होला । स्वास्थ लाभपछि प्लाज्मा डोनेट गर्नेछु ।’
संक्रमणपछि उहाँ भेरी अस्पताल आइसोलेसनमा बस्नु भएको छ । यसअघि भरी अस्पतालका कोरोना फोकल पर्सन डा. रिसाललाई भाइरस संक्रमण देखिएको थियो । उहाँ पनि भेरी कै आइसोलेसनमा बस्नु भएको छ । संक्रमणबाट मुक्त भएपछि पुनः कोरोना भाइरस संक्रमण विरुद्धको अभियानमा खटेर बिरामीको सेवामा तल्लीन हुने डाक्टरद्वयको भनाइ छ ।
मंगलबारसम्म बाहिरी जिल्लाका समेत ८ सय ३५ जनालाई कोरोना संक्रमण देखिएकोमा ६ सय ५४ जना संक्रमण मुक्त भई डिस्चार्ज भईसकेका छन् ।
कोरोना फोकल पर्सन श्रेष्ठले बाँकेका बिभिन्न आईसोलेशन सेन्टरमा अझैं पनि १ सय ७८ जनाको उपचार भईरहेको जानकारी दिएका छन् । बाँकेमा कोरोना संक्रमणका कारण २ जना महिलासहित ४ जनाले ज्यान गुमाईसकेका छन् ।
