
नेपालगन्ज, ६ भाद्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५, जमुनाह पिप्रहवामा हाईमास्ट लाइट जडान तथा निर्माण कार्यको प्रतिनिधिसभा सदस्य एवं पूर्व शहरी विकास मन्त्री मो. ईस्तियाक राईद्वारा शिलान्यास गरिएको छ ।

उक्त शिलान्यास कार्यक्रममा पूर्वमन्त्री राईले आफू मन्त्री भए कै बेलाको यो योजना हो, जसमा नेपालगन्ज उपमहानगरपालिकामा ३९ वटा र कोहलपुर नगरपालिकामा १३ वटा गरी जम्मा ५२ वटा हाईमास्ट लाइट जडान गरी बाँके जिल्लाको सदरमुकामलाई झिलिमिलि बनाउने योजना रहेको बताउनुभयो ।

पूर्वमन्त्री राईले भन्नुभयो– ‘नेपालगन्जलाई झिलिमिलि बनाउन योजना ल्याईयो तर कोभिड–१९ को संक्रमणले गर्दा कार्यप्रगतिमा केही ढिलो हुन गएको तथा सम्बन्धित मन्त्रालयमार्फत ६ महिनाको समय थप दिएको हुँदा अब हदै भए २ महिनामा जडान गरिनेछ ।’ उहाँले– ‘मैले राजीनामा दिईसके पश्चात यो मास्टलाईट नेपालगन्जको एतिहासिक ठाउँमा जाडन गर्नुपर्ने थियो तर हाल केही व्यक्ति विशेषहरुको नाम परिवर्तन गरी जडान हुँदैछ, मलाई पनि उपयुक्त लागेको छैन, तर पनि जताजता भएपनि मैले गरेको प्रतिबद्धता पुरा गरेको छु’ बताउनुभयो ।
उहाँले– ‘म आज यसै स्थानबाट आफ्नो कार्यकर्ताहरुलाई आव्हान गर्दछु, उपमहानगरमा कही पनि केही विकास निर्माणका कार्य भइरहेको छ भने त्यसमा के कसरी निर्माण हुँदैछ ? कुन तहबाट निर्माण हुनेछ ? उसको मापदण्ड के हो ? कसले निर्माण गर्दैछन्, कति स्टीमेट रहेको छ लगायतको सूचना माग गरेर भएपनि त्यसको अनुगमन गर्नुपर्दछ’ भन्नुभयो ।

उहाँले केही महिना अगाडी कोभिड–१९ को महामारीमा आफ्नो कोषबाट भेरी अस्पतालमा ७ वटा भेन्टिलेटर खरीद वापत डेढ करोड रुपैयाँ दिएको थिए, त्यसको भरपाई समेत मसित रहेको छ, तर राजनीतिक खिचातानीले गर्दा उक्त रकम फ्रिज भएको सुन्नमा आएको हुँदा सोबारे सबैले जानकारी उपमहानगर प्रमुखबाट माग्नु पर्दछ । भन्नुभयो– ‘म मन्त्री हुँदा निर्देशन दिएको ठाउँहरुमा कार्य भएको छैन, नियम र मापदण्ड अनुसार गर्नुपर्ने कार्यमा सुधार भएको छैन, म आग्रह गर्न चाहान्छ, मैले विगतमा गरेको निर्देशन बमोजिम कार्यहरु गर्दिनुस् नभए हामी आफ्नो कार्यहरु उतार्ने छौं ।’
पूर्वमन्त्री राईले ‘राजनीतिक खिचातानी र आफ्नो साख जोगाउने सोंचमा रहेका प्रतिनिधिहरुले गर्दा नै बाँकेको विकासमा अवरोध रहेको पाईन्छ, अहिले पनि नेपालको सबैभन्दा बढी कार्यक्रम शहरी विकास मन्त्रालयमा नै छ, शहरी विकास भवन निर्माण कार्यालयको रेडबुकमा कारकाँदोको प्रदर्शनी हल, चौलिक्काको कोल्ड स्टोर, भेरी अस्पतालको स्तनपान गृह र कुरुवा घर, नेपालगन्ज र डुडुवाको धार्मिक स्थलहरुको सौन्दर्यकरण लगायत कार्यहरु हालसम्म सम्पन्न भएको पाई्रन्न, यो दुर्भाग्यपूर्ण नै हो, अरु जिल्ला जस्तै हामीले विकास निर्माण कार्यमा सबै राजनीतिक दलहरुले हातेमालो गर्न अतिआवश्यक छ’ भन्नुभयो ।
शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्जका निमित्त आयोजना प्रमुख विजयकेशर खनालका अनुसार नेपालगन्जका लागि ३९ वटा हाईमास्ट लाइट जडान गरिने छ भने कोहलपुर नगरपालिका भित्र १३ वटा गरी जम्मा ५२ वटा हाीईमास्ट लाइट जडान गरिने बताउनुभयो ।
निमित्त आयोजना प्रमुख खनालको भनाई अनुसार ४ वटा छुट्टाछुट्टै टेण्डर मार्फत हाईमास्ट लाईट जडान गरिने छ । जसमा ३९ वटाको लागत ४ करोड २० लाख रुपैया र १३ वटा गरी कुल लागत ६ करोड ४० लाख ३२ हजार २ सय ८२ रुपैया रहेको छ भने यो आयोजना असार मसान्तसम्म पुरा हुनुपर्ने थियो कोभिड–१९ ले गर्दा भारतबाट सामान नआएको हुँदा सम्पन्न हुन नसकेको तथा अब मंसिर मसान्तसम्म आयोजना पुरा हुने बताउनुभयो ।
कार्यक्रममा कोभिड–१९ को बेला नेपाल सरकारद्वारा जारी गरिएको सर्कुलर अनुसार मापदण्ड अपनाइएको थिएन् । कायम हुनुपर्ने दुरी समेत कायम नगरी कार्यक्रम सञ्चालन गरिएको थियो भने कार्यक्रमको आयोजना शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई, नेपालगन्ज, बाँकेले गरेको थियो ।
शिलान्यास कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री मो. ईस्तियाक राई, सांसद विजयबहादुर यादव, नेता कमरुद्दीन राई, वडा नं. १५ का वडाअध्यक्ष, सदस्यहरु, सञ्चारकर्मीहरु लगायत ५० बढी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।