Saturday, April 18सत्यम खबर
Shadow

सात वटा विधेयक पारित गर्दै डुडुवाको दशौ गाउँसभा सम्पन्न

डुडुवा, ८ पाैष – डुडुवा गाउँपालिकाको दशौ गाउँसभाले सात वटा विधेयक पारित गर्दै दशाैं गाउँसभा सम्पन्न भएकाे छ । आज विहीबार बसेको सभाले डुडुवा गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई विधेयक २०७८, संस्था दर्ता विधेयक २०७८, डुडुवा गाउँपालिकाको स्थानीय पूर्वाधार व्यवस्थापन विधेयक २०७८, डुडुवा गाउँपालिकाको सार्वजनिक, निजी तथा अन्तरसरकारी साझेदारी विधेयक २०७८, डुडुवा गाउँपालिका को स्थानीय सडक विधेयक २०७८ र डुडुवा गाउँपालिकाको नगर प्रहरी विधेयक २०७८, गाउँपालिकाको तथ्यांक संकलन तथा अभिलेख व्यवस्थापन विधेयक २०७८ गरि सात वटा विधेयक र डुडुवा गाउँपालिकाको स्वास्थ्य नीति २०७८ पारित गरेको हो ।

सभामा विधेयक समितिका संयोजक लिलावती यादवले प्रस्तुत गर्नु भएको विधेयक सर्बसम्मत रुपमा पारित गरिएको हो । गाउँसभामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले हालसम्मको प्रगति प्रतिबेदन र संशोधित बजेट प्रस्तुत गर्नु भएको थियो ।

गाउँसभाले गाउँपालिकाको चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटमा संशोधन पनि गरेको छ । चालु आर्थिक वर्षको बजेटका केही कार्यक्रमहरुको बजेट कटौती र केही कार्यक्रमहरुमा रकम थप गर्ने गरि गरिएको बजेट संशोधन पारित गरिएको थियो ।

डुडुवा गाउँपालिका अहिले जिल्लास्तर मै नमूनाको रुपमा काम गर्न सफल भएको पालिका अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य क्षेत्रमा सबभन्द बढी अंक ल्याएर जिल्ला मै पहिले, विभिन्न निति निर्णय र प्रक्रियामा गरिएको काम अन्तर्गत स्वमुल्यांकनमा पनि जिल्लामा पहिलो, घर घरमा पशु उपचार सेवामा देश कै पहिलो स्थानीय तह र बाँके जिल्ला मै सबभन्दा कम बेरुजु डुडुवामा रहेको पाइएको छ ।

गाउँपालिकाले मुख्य लक्ष्य लिएर शुरु गरेको विभिन्न नमूना योजनाहरु सफल भएका छन् । गाउँपालिकाले जेष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम, जेष्ठ नागरिक उपचार सेवा, जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण, घरघरमा घटना दर्ता अभियान जस्ता कार्यक्रम प्रभावकारी रुपमा देखिएको छ ।

सदस्य सचिव प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले सञ्चालन गर्नु भएको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानौ, वडाध्यक्षहरु, वडा सदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो । गाउँपालिकामा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई कदर पत्रले सम्मान समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *