नेपालगन्ज, ५ भाद्र – हरेक बर्ष तीज गीत प्रतियोगिता गर्दै आएको कृष्णसार एफएमले कोरोनाका कारण यसबर्षको प्रतियोगिताको स्वरुप परिवर्तन गरेको छ । बाँके र बर्दियाका साना–ठूला सहरमा पुगेर प्रतियोगी छनोट गर्दै आएको उक्त एफएमले यसबर्ष डिजिटल प्रतियोगिताको अवधारणा अघि सारेको छ ।
प्रतियोगीले आफूलाई मन परेको गीतमा नाचेर एफएमलाई पठाएको प्रतियोगिताका संयोजक माधव अधिकारीले बताए । उनले प्रतियोगीले तीज गीतमा नाचेको भिडियो २ भाद्रमा एफएमको पेसबुक पेजमा अपलोड गरेको बताए । प्रतियोगीले खेत, बारी, सडकमा नाचेको भिडियो एफएमलाई पठाएको उनको भनाई छ । ‘प्रतियोगीको भिडियोमा आएको लाइक र भ्यूजको आधारमा छनोट गरिने छ,’ उनले बताउनुभयो ।
नाचौ, तीज आठौँ सिजन डिजिटल प्रतियोगिता नाम दिइएको उक्त प्रतियोगिताका लागि ५० जनाले भिडियो पठाएको उनले जानकारी दिए । ति मध्ये पहिलो चरणमा २५ जना प्रतियोगीको भिडियो छनोटमा परेको उनले बताए । २५ भाद्रमा प्रतियोगिता सम्पन्न हुने अधिकारीले बताए । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई पुरस्कारको ब्यवस्था समेत गरिएको छ । ‘पहिलो, दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमशः १५, १०, ५ र ३ हजार रुपैँया पुरस्कारको ब्यवस्था गरिएको,’ उनले बताए ।