
नेपालगन्ज, ३१ श्रावण– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले, भारतमा कोरोना भाइरसविरुद्ध तीन वटा खोप परीक्षणको चरणमा रहेको बताउनुभएको छ । ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा दिल्लीको लालकिलाबाट सम्बोधन गर्दै उहाँले तीन वटा खोप परीक्षणको चरणमा रहेको र स्वीकृति पाएपछि व्यापक परिमाणमा उत्पादन गर्ने बताउनुभएको हो । भारतीय मिडियाहरुका अनुसार करीब ३ करोडको हाराहारीमा खोप उत्पादन गरिने तयार भइरहेको जनाइएको छ ।

शनिबार बिहान दिल्लीको लालकिलाबाट भारतीय प्रधानमन्त्री मोदीले सम्बोधन गर्दै कोरोनालाई लिएर धेरै मानिसमा चिन्ता बढेको र खोप कहिले बन्छ भन्ने जिज्ञासा भएको भन्दै उहाँले भारतले तीन वटा खोप परीक्षण गरिरहेको बताउनु भएको थियो ।
भारतीय प्रधानमन्त्री मोदीले विगत वर्षमा भारत सरकारद्वारा गरिएको कार्यहरुको जानकारी गराउनुका साथै भारतले अब रक्षा उत्पादनमा आत्मनिर्भरता तर्फ पूर्णरुपमा अग्रसर भई जुटेको बताउनुभएको थियो ।

कोरोना संक्रमित धेरै भएका देशको सूचीमा भारत तेस्रो र ज्यान गुमाउने देशको सूचीमा चौथो स्थानमा रहेको छ । भारतमा हालसम्म २५ लाख २५ हजारमा कोरोना संक्रमण भएको छ भने ४९ हजारको ज्यान गएको छ । संक्रमण पुष्टि भएकामध्ये १८ लाख निको भएका र बाँकी साढे ६ लाखको उपचार भैरहेको भारतीय मिडिया आजतकले जनाएको छ ।