Wednesday, September 24सत्यम खबर
Shadow

‘अस्पतालको सेवा प्रभावित’– सहनिर्देशक किदवाई

नेपालगन्ज, ३१ श्रावण– कोरोना भारइरसका कारण नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका ५० जना स्वास्थ्यकर्मीहरू क्वारेन्टाइन र आइसोलेसनमा राखिएको छ ।
अस्पतालमा सेवा लिन आएका केही बिरामीमा कोरोना भारइरसको संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका मध्ये केहीलाई संक्रमण भएर आइसोलेसनमा तथा अन्य गरेर ५० जना स्वास्थ्यकर्मी आइसोलेसन र क्वारेन्टाइनमा राखिएको हो ।


नेपालगन्ज मेडिकल कलेजको नेपालगन्जस्थित शिक्षण अस्पतालका सहनिर्देशक डा.रोमन किदवाईले अस्पतालका ५० जना स्वास्थ्यकर्मीहरू एकै पटक आइसोलेसन र क्वारेन्टाइनमा गएपछि अस्पतालको सेवा प्रभावित भएको जनाउनु भएको छ ।
उनले संक्रमित बिरामीको सम्पर्कमा आएर अस्पतालका तीन चिकित्सक र तीन स्वास्थ्यकर्मी गरेर छ जना संक्रमित भई आइसोलेसनमा रहेको जनाउँदै संक्रमित बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आएका अस्पतालका विभिन्न विभागका अन्य ४४ जना चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई क्वारेन्टाइनमा राखिएको बताउनुभयो ।


अस्पतालका सहनिर्देशक किदवाईका अनुसार पछिल्लो समयमा आएर समुदायमा संक्रमण फैलिए पनि बिरामीलाई निरन्तर सेवा प्रदान गर्दै आएकोले चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित भएका हुन् । उनले हाल आएर ठूलो संख्यामा स्वास्थ्यकर्मी क्वारेन्टाइनमा राखिएपछि बिरामीलाई सेवा दिन समस्या भइरहेको बताउनुभयो ।
ठूलो संख्यामा स्वास्थ्यकर्मीहरू आइसोलेसन र क्वारेन्टाइनमा बसे पनि आलोपालो गरेर अस्पतालका सबै सेवालाई सुचारु राखिएको अस्पतालले जनाएको छ । उनले हालसम्म उपचारका लागि अस्पतालमा पुगेका कुनै पनि बिरामीलाई फिर्ता नगरिएको बताउनुभयो । उनले कोरानाको लक्षण देखिएका बिरामीलाई समेत स्वास्थ्य सेवा दिँदै आएकोले नै धेरैजना स्वास्थ्यकर्मीहरू आइसोलेसन र क्वारेन्टाइनमा बस्नुपरेको जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *