
नेपालगन्ज, २ कार्तिक – १२ दिनदेखि अनसनमा रहेकी रूबी खानले अनसन तोडेकी छन् ।
मंगलबार बाँके घटनाबारे गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएपछि खानले माइतीघर मण्डलमा अनसन तोडेकी छन् ।
उनलाई महिला अधिकारकर्मी मोहना अन्सारीले जुस खुवाएकी थिइन् ।

बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे उक्त समितिले छानबिन गरी सत्यतथ्य पत्ता लगाउने जनाइएको छ । धोबीको मृत्यु र कुर्मी बेपत्ताबारे महिला अधिकारकर्मीहरूले न्याय माग गरिरहेका छन् ।
सरकार र रूबी खानबीच छानबिन समिति बनाउने लगायत विषयमा त्रिवि शिक्षण अस्पतालमा सहमति भएको थियो । खान विगत १२ दिनदेखि अनसनरत छिन् ।

सरकारले बनाएको उक्त समितिले एक साताभित्र छानबिनको प्रतिवेदन दिने जनाइएको छ । धोबीको मृत्यु र कुर्मी बेपत्ताबारे सत्यतथ्य पत्ता लगाउन र न्याय दिलाउन माग गर्दै १४ जना महिला २० दिन हिंडेर बाँकेबाट काठमाण्डौ पुगेका थिए ।
रूबी खानले यो अनसन स्थगित मात्रै भएको बताएकी छन् । घटनाबारे सत्यतथ्य बाहिर नआए योभन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएकी छन् ।
